मधेसबिनाको काठमाडौँ कल्पना हुनै सक्दैन – प्रधानमन्त्री

प्रकाशित समय 12:47 PM
माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिनाको काठमाडौँको कल्पना हुनै नसक्ने बताउनुभएको छ । आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिनुभयो । हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो– “मधेसका लागि काठमाडौँ र काठमाडौँका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेसबिनाको काठमाडौँको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो ।” सरकारको चासो आर्थिक समृद्धि र विप्रेषण महत्वपूर्ण आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो – “मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाइँहरुको पसिनाबाट आर्जेको विप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु ।” नेपालमा प्राकृतिक टावर (सगरमाथा) रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मानव निर्मित टावर र प्राकृतिक टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको स्पष्ट पार्नुभयो । प्रवासी नेपालीसँग प्रधानमन्त्रीले नेपाली व्यवसायीसँग अन्तक्र्रिया गर्नुभएको थियो । अन्तक्र्रियामा प्रधानमन्त्रीले भन्नुभयो – “तपाइँहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छाँै । त्यसका लागि आगामी मार्च २ र ३ मा काठमाडौँमा लगानी सम्मेलन गर्दैछौँ । तपाइँहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।” प्रधानमन्त्रीले प्रवासी नेपालीका समस्या प्रत्यक्ष बुझ्ने अवसर पाएको जानकारी दिँदै भन्नुभयो – “तपाइँहरुले आफ्ना समस्या र पीडा राख्नुभएको छ । मैले सरकारको तर्फबाट प्रवासी नेपालीका समस्या समाधानमा निरन्तर कोसिस गरिरहेको छु । अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कारबाही गर्ने, दुबईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिट्टै निर्णय लिनेछौँ । सरकार तपाइँहरुको साथमा छ, आवश्यक सहयोगका लागि सक्दो कोसिस हुनेछ ।” कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत् बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत् नेपालमै खपत गर्न सकिने र साझा सङ्कल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । सो अवसरमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

विद्यालयमै डोमलाई छोइछिटो

प्रकाशित समय 8:52 AM
जनकपुर,माघ ३ गते । जनकपुर उपमहानगरपालिका १ को ऐलानी जग्गामा रहेको झोपडीमा बस्ने अनिता मल्लिक डोमले आफ्ना चार छोराछोरीलाई पढाउन सक्दो प्रयत्न गरिन् ।

सामान्य लेखपढ गर्न आउने दुई छोरी र दुई छोरालाई अनिताले जनकपुरकै सरस्वती उच्च माध्यमिक विद्यालय तथा अन्य सरकारी विद्यालयमा पढ्न पठाइन् । तर छोराछोरीलाई कहिले शिक्षक त कहिले विद्यार्थीका अभिभावकले विद्यालयबाट घर पठाइदिएपछि वाक्कदिक्क भएर छोराछोरी पढाई ठूलो मान्छे बनाउने सपना उनले त्यागेकी छन् ।

ुमजदुरी गरेरै भए पनि बच्चालाई पढाउँछु भन्ने सोचेकी थिएँ । विद्यालय पठाउन कपीकलम पनि किनिदिएँु, अनिताले भनिन्, ुतर विद्यालयमा डोमका बच्चालाई अछूत भनेर हेला गरिने तथा पढ्नै नदिने वातावरण भएपछि छोराछोरी अहिले कबाड बेच्ने र फोहोर सफा गर्ने काममा लागेका छन् ।ु उनी बस्ने मिल्स एरियाको डोम बस्तीमा कोही पनि बालबालिका विद्यालय जाँदैनन् । उनीहरू घरको काम गर्ने वा फोहोरबाट कबाड छानेर बेच्ने गर्छन् ।
संविधानले कुनै व्यक्ति वा समुदायमाथि छुवाछूत गर्नुलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि तराईका डोम समुदायले छुवाछूतकै विभेदका कारण शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

विद्यालयमा डोम बालबालिकालाई सँगै बस्न नदिने, केही सोध्दा पनि शिक्षकले नबताउने र अन्य बालबालिकाका अभिभावकले डोम समुदायका बालबालिका पढाए आफ्ना छोराछोरी विद्यालयबाट छुटाउनेसम्मको चेतावनी दिने गरेकाले आफ्ना बालबालिकालाई चाहेर पनि विद्यालय पठाउन गाह्रो भएको रामअधीन सदा डोम बताउँछन् । छुवाछूतकै कारण डोम, हल्खोर, मेस्तर, चमार र दुसाध जातिका बालबालिकालाई विद्यालयमा पढ्न गाह्रो हुने गरेको विनोद मेस्तरले सुनाए ।

ुनपढेकै कारण हामीले पशुकै जीवन बिताउनुपर्‍योु, विनोदले भने, ुसमाजले सधैं हेला गर्‍यो । शौचालय सफा गर्ने, लास फाल्ने, फोहोर सफा गर्ने काम गरेरै जीवन बित्नेभो ।ु आफ्ना छोराछोरी पढलेख गरी राम्रो काम गरून् भन्ने चाहना भए पनि पढ्न विद्यालयले स्थान दिने नगर्दा समस्या भएको विनोदले बताए ।

टोलैपिच्छे विद्यालय भए पनि त्यहाँ आफ्ना बालबालिकालाई अछूत भनेर पस्नसमेत नदिने गरिएकाले आफूहरूका लागि विद्यालयको केही अर्थ नै नभएको दिनेश डोमले बताए । विद्यालयको सहज पहुँच नहुँदा आफूहरूलाई पढ्नलेख्न समस्या भएको तथा अर्कोतर्फ फोहोरी भनेर समाजले हेला गर्नु निन्दनीय रहेको दिनेशको भनाइ छ ।
जनकपुर उपमहानगरपालिकामा मात्रै तीन सयभन्दा बढी डोम परिवार छ । तीमध्ये धेरैका बालबालिका विद्यालय जाँदैनन् ।

पढाइलेखाइ नहुँदा कम उमेरमै विवाह हुने र १६ वर्ष कट्न नपाउँदै बालबच्चाको बोझ बोक्नुपर्दा यो समुदायको स्वास्थ्य अवस्था पनि कमजोर हुने गरेको छ ।

अधिकांशको दैनिक मजदुरी गरी खानुपर्ने अवस्था रहेकाले बालबच्चालाई पनि कामकाजमै लगाउनुपर्ने उनीहरूको बाध्यता छ ।

अहिले केही जागरुक युवाले जनकपुरमा डोम समुदाय उत्थान केन्द्र नेपाल नामको संस्था गठन गरी अधिकारका लागि आवाज उठाउन थालेका छन् । उत्थान केन्द्रका अध्यक्ष दिनेश डोमले आफूहरूले जनकपुर उपमहानगरपालिकामा कम्तीमा एउटा दलित विद्यालय र धर्मशाला निर्माण गरी यो समुदायको जनजीवन सहज बनाउन अनुरोध गरेको बताए ।

विपन्न यो समुदाय ऐलानी जग्गामा बसोबास गर्दै आएको छ । जनकपुर उपमहानगरपालिका १ मा बस्दै आएका डोम परिवारलाई सडक विस्तारका लागि भन्दै माघ ६ भित्र हट्न निर्देशन दिइएकाले बसोबासमै पनि समस्या आएको छ । सभार अन्नर्पूणापोस्टबाट