एक लाख २० हजार अपराधी अझै फरार

प्रकाशित समय 12:54 AM
अन्लाईन सिरहा डटकम माघ १३ गते । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा हत्या मुद्दामा जन्मकैदको फैसला पाएकादेखि बैङ्किङ ठगी मुद्दामा करिब एक अर्ब रुपियाँ जरिवाना सुनाइएका अपराधीहरू छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार विभिन्न मुद्दाका स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार व्यक्ति फरार छन् । तीमध्ये १५ सय विदेशी नागरिक रहेको निर्देशनालयले जनाएको छ । २०७१ सालबाट सुरु गरिएको फैसला कार्यान्वयन अभियान अन्तर्गत विशेष अभियान सञ्चालन गरिएका २१ जिल्लामा तीन हजार २३, अन्य जिल्लाबाट तीन हजार २४ र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक सय ४० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । विभागका अनुसार सजाय बेरुजू राख्ने अपराधीको पक्राउसँगै जरिवाना तीन अर्ब ५८ करोड ८४ लाख चार हजार रुपियाँ असुल भएको छ । फैसला बेरुजू राख्ने पक्राउ परेकाहरूको जेल सजाय पाँच हजार तीन सय ६१ वर्ष एक महिना हुन आउँछ । दण्डहीनताविरुद्ध कारबाही अभियान २५ वर्ष पुराना अपराधका घटनामा संलग्न अपराधीहरू पनि पक्राउ परेका छन् । त्यस्तै कतिपय सरकारी जागिरसमेत खाइरहेको अवस्थामा पनि अपराधीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । विभिन्न अदालतले विभिन्न समयमा सजाय फैसला सुनाइसकेका तथा फरारको सूचीमा सूचीकृत अपराधी तथा अभियुक्तहरूलाई पक्राउ गर्न कडिकडाइ गरेयता वर्षौं पुराना अपराधका घटनामा संलग्न व्यक्ति कारबाहीको दायरमा आएका हुन् । प्रहरीले त्यस्ता अपराधीका विषयमा गोप्य सूचना प्राप्त भए तत्काल प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिन आग्रह गरेको खबर आजको गोरखापत्रमा समाचार छ ।

देशैभर मौसम परिवर्तन, दिनभर पानी पर्ने, उच्च हिमाली क्षेत्रमा हिमपात

प्रकाशित समय 12:43 AM
अन्लाईन सिरहा डटकम माघ १४ । काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । उपत्यकामा अहिले हल्का वर्षा भैरहेको छ भने दिउँसोपख केही ठाउँमा जमिन भिज्ने गरी वर्षा हुने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । पूर्वमा पनि आज पानी पर्नेछ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार धनगढीमा ७ मिलिमिटर, डडेल्धुरामा ६ मिलिमिटर, दिपायलमा ५ मिलिमिटर, वीरेन्द्रनगर र जुम्लामा २२ मिलिमिटर, नेपालगञ्जमा १ मिलिमिटर, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ । पोखरा लगायत आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । आज पानी परेपनि शनिबारदेखि भने मौसम सफा रहनेछ । पश्चिमी वायू नेपालबाट फर्किने क्रममा रहेकाले भोलिदेखि मौसम सफा हुने महाशाखाले जनाएको छ । मध्य र पश्चिमी क्षेत्रमा प्रभाव पारेको पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सरिरहेको मौसमविद् पोखरेलले बताउनुभयो । देशभरकै मौसम बद्ली भई धेरै ठाउँमा पानी परिरहेपनि चिसो भने नबढ्ने मौसमविद्ले बताएका छन् । ठूलो पानी पर्ने गरी प्रणाली विकास नभएकाले केही चिसो महशुस गरेपनि जाडो भने नबढ्ने उनीहरुले बताएका छन् । पानी परेपछि आकाश सफा भई तत्कालका लागि न्यूनतम तापक्रम घट्ने भए पनि फेरि तापक्रम बढ्ने छ ।