बन्दकर्ताको मृत्युबारे गृहले यस्तो बोल्यो
Advertise Here Book Now
गृह मन्त्रालयले धनुषा जिल्लामा सुरक्षाकर्मीले कुनै पनि बल प्रयोग नगरेको जनाएको छ ।
प्रहरीको बल प्रयोगका क्रममा राजाराम झाको निधन भएको भन्ने भनाइमा कुनै पनि सत्यता नभएको भन्दै मन्त्रालयले उपचारको क्रममा उनको निधन भएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने ‘‘बन्द गराउँदै हिँडेका झा बेहोस भई ढलेको र एम्बुलेन्ससमेत जान नसक्ने स्थितिमा उपचारका लागि प्रहरी भ्यानमा राखेर अस्पताल पु-याइएको हो, प्रहरीले दमन गरेको भन्ने भनाइमा कुनै सत्यता छैन ।’’
एकीकृत नेकपा(माओवादी) नेतृत्वको ३० दलीय मोर्चाको आज साँझ सिंहदरबारमा बसेको बैठकले भने झाको मृत्यु प्रहरीको कुटाइबाट भएको बताएको छ । प्रहरीको पिटाइबाट झाको निधन भएको भन्दै मोर्चाले सो घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
मोर्चाका संयोजक पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‘प्रहरीको कुटाइबाट निधन भएका राजाराम झालाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दछौँ ।’’ विज्ञप्तिमा सो घटनाका सम्बन्धमा तत्काल छानबिन नगरिए तराई मधेसमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइने उल्लेख छ । रासस