हरुवाचरुवाहरु आयआर्जन गर्दै
Advertise Here Book Now

लहान, कार्तिक १६ । दैनिक १६ घण्टासम्म काममा जोतिंदा समेत हातमुख जोड्न धौ धौ भएपछि सिरहाका हरुवा चरुवाहरु संगठित रुपमा बचत अभियानसँगै आयआर्जन सम्बन्धी काम समेत गर्न थालेका छन् । सिरहाको पडरिया, सिसवनी, बस्तीपुर र भवानीपुर प्र.ध. गा.वि.स. क्षेत्रका करिब एक हजार दुई सय हरुवा चरुवाहरु जीविका चलाउन गिरहतको हलो जोत्ने कामसँगै नियमित बचत अभियानसँगै खुद्रा व्यापार, किराना पसल संचालन, माछा मासु बिक्री जस्ता काम गरेर आर्थिक रुपले आत्मनिर्भर बन्ने कोशिश गरिरहेका छन् ।
सिरहाको पडरिया ८ भोयिा टोलकी ३५ वर्षीया विमला विश्वकर्माले कृषि मजदूरीको कामसँगै आफ्नो घरमा २० हजार रुपैयाँ लगानी गरेर किराना पसल संचालन गरेकी छन् । जेनेभा ग्लोवलको आर्थिक सहयोगमा दलित संरक्षण अभियान मञ्चले महिलाहरुको बचत समूहमा दुई वर्षपछि फिर्ता गर्ने गरी निब्र्याजी रुपमा रकम उपलब्ध गराएपछि किराना पसल संचालन गरेको विश्वकर्माले बताउनु भयो । हरुवा चरुवाको समस्या र समाधानका उपाय विषयक अभिमुखीकरण कार्यक्रममा सहभागी पडरियाका रेविया सदायले संस्थाको सहयोगमा खुद्रा व्यापार गरेपछि एकाध सय रुपैयाँका लागि गिरहतको घरमा हात फैलाउन जान नपरेको सुनाउनु भयो । मञ्चले गाउँका भूमिहीन हरुवा चरुवाको जनसंगठनको पहिचान र निर्णयको आधारमा १५ जनालाई लघुउद्यम गरी आयआर्जन गर्न २०÷२० हजार रुपैयाँको दरले रकम वितरण गरिएको कार्यक्रम संयोजक सूर्यनारायण रामले बताउनु भयो ।
कार्यक्रम संयोजक रामका अनुसार हरुवा चरुवा परिवारका दुई सय ६० जना बालबालिकाको पढाईमा सघाउन हरेक गा.वि.स.मा चार÷चार वटाकार दरले १२ वा ट्यूसन कक्षा संचालन गरिएको छ । हरुवा चरुवा परिवारका महिलाहरुलाई आयआर्जनसँग जोड्न १२ वटा महिला बचत समूह गठन गरी मासिक बचत गर्न थालिएको छ । स्थानीय महिला बचत समूहमा पछिल्लो १० महिनामा एक लाख २३ हजार रुपैयाँ बचत गरी समूहका महिलाहरुलाई गाह्रो अप्ठ्यारो परेको समयमा न्यूनतम् ब्याजमा चलाउने गरिएको रामले उल्लेख गर्नुभयो । मञ्चका अनुसार सिरहाका सबै ठाउँमा गरी करिब १८ हजार एक सय ६० हरुवा चरुवा रहेका छन् । हरुवा चरुवा परिवार माटोमै काम गर्ने भएपनि आफ्नो स्वामित्वको माटो नभएकाले मञ्चले स्थानीय जनसंगठनमार्फत् जग्गा लिजमा लिएर साामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा दलित अधिकारकर्मी तथा पत्रकार मणिलाल विश्वकर्माले हस्वा चरुवाको समस्या र सरोकारवालाहरुको भूमिका विषयक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । अवधारणा पत्रकमा हरुवा चरुवको पृष्ठभूमि, शोषण उत्पीडन, समस्या, समाधानको उपायहरुको विषयमा चर्चा गरिएको छ । अवधारणा पत्रमा हरुवा चरुवाको मुक्तिको घोषणा गरी कम्तिमा एक पल्टका लागि सुरक्षित बास र परिवार संख्याको आधारमा जग्गा उपलब्ध गराइनु पर्ने, केन्द्रीय, जिल्ला विकाससहित स्थानीय निकायको वार्षिक योजना तथा बजेटमा हरुवा चरुवा बस्तीमा खानेपानी, सीपमूलक तालिमको व्यवस्था गरिनु पर्ने, हरुवा चरुवाको सम्पूर्ण ऋण खारेजी गरिनु पर्ने, जीविकोपार्जनका लागि विभिन्न सीपमूलक तालिम संचालन गरी लघु उद्यम व्यवसाय गर्न अल्पकालीन र दीर्घकालीन अनुदान उपलब्ध गराईनु पर्ने उल्लेख छ ।त्यस्तै, जिल्लाका विभिन्न भागमा उठीबासको घटना तत्काल बन्द गरिनु पर्ने, बँधुवा श्रम निषेध ऐनमार्फत् हरुवा चरुवाहरुको मुद्दा समेत सम्बोधन गरिनु पर्ने, हरुवा चरुवाका परिवारका बालबालिकालाई कम्तिमा स्नातक तहसम्म छात्रवृत्तिसहित अनिवार्य शिक्षाको व्यवस्था गरिनु पर्ने, भूमिहीनहरुसँग सरकारले विभिन्न समयमा गरेका सम्झौताहरु तत्काल कार्यान्वयन गरिनु पर्ने माग गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्