वाणिज्य संघको अधिवेशन विद्यालय नै बन्द, विद्यार्थीले पढ्न पाएनन्
Advertise Here Book Now

सुरेन्द्रकुमार कामती , सिरहा । देशकै दोस्रो जेठो विद्यालयमा उद्योग वाणिज्य संघको अधिवेशनले पठनपाठन प्रभावित भएको छ । चन्द्र उच्च माध्यमिक विद्यालयमा उद्योग वाणिज्य संघ सिरहाले तेस्रो अधिवेशन आयोजना गर्नका लागि शुक्रवार विदा गरिएकाले पठनपाठनमा समस्या भएको हो । 

कक्षा १ देखि ९ सम्म अध्ययनरत ९ सय ४० विद्यार्थीलाई प्रत्यक्ष रुपमा असर हुनेगरी पठनपाठन बन्द गरिएको हो । कक्षा ११ र १२ को पढाई र टेस्ट परीक्षा बाहेक अन्य शैक्षिक क्रियाक्लाप पूर्णरुपमा प्रभावित भएको छ । 

सिरहा उद्योग वाणिज्य संघले व्यपारीहरूलाई सुविधा हुनेगरी अधिवेशनको आयोजना विद्यालय परिसरमा गरेको छ । व्यापारीहरूले हप्ताको एक दिन अर्थात प्रत्येक शुक्रवार पसल/व्यवसाय बन्द गर्ने गरेका छन् । उद्घाटनमा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख र विभिन्न सरोकारवालाहरूको सहभागिता रह्ने उद्योग वाणिज्य संघका अध्यक्ष संजय महासेठले बताए ।

विद्यालय शान्ति क्षेत्र घोषणा भईसक्दा राजनीतिक दल र विभिन्न संघसंस्थाहरूले त्यसको पालन नगरेको यो पछिल्लो उदाहरण हो । चार घण्टी पठनपाठनको दिन भएकोले पनि त्यस्तो असर नपर्ने संघका दृतीय उपाध्यक्ष लालबाबु साहले बताए । उनले भने, ‘अधिवेशनको लागि विद्यालय परिसर सवैभन्दा उपयुक्त छ । हाम्रो कार्यक्रमले पठनपाठनमा खासै असर गर्दैन ।’

उपाध्यक्ष साहका अनुसार अधिवेशनको लागि एकसाता पहिलै विद्यालयमा पत्र पठाइएको र त्यसै अनुसारको तयारी भएको हो । विद्यालयका प्रध्यानाध्यापक मधुसुदन कर्णले कार्यक्रम दिउँसो दुई बजेपछि गर्ने भनेर आग्रह गरेपछि परिसर उपलब्ध गराएको बताए । उनले भने, ‘हामीले पठनपाठन अवरुद्ध नहोस भनेर परिसर उपलव्ध गराइएको हो ।’ 

शिक्षा क्षेत्रका स्थानीय अगुवा रामकिशोर यादवले कुनै पनि वहानामा पठनपाठन बन्द गर्न नहुने बताए । उनले भने, ‘निर्वाचनको वेला सवैभन्दा वढी यहि विद्यालयको पठनपाठन ठप्प रह्यो । अहिले पनि विभिन्न राजनीतिक दल र संघसंस्थाले विद्यालयमा कार्यक्रम गरी पठनपाठन अवरुद्ध गर्दै आएको छ ।’ विद्यालयको पठनपाठन अवरुद्ध हुनेगरी वाणिज्य संघको अधिवेशन भइरहेको सन्र्दभमा जिज्ञासा राख्दा सिरहा नगरपालिकाका उपमेयर डा नमिता यादवले आफूलाई कुनै जानकारी नभएको बताइन् । उनले भनिन्, ‘विद्यालयको पठनपाठन बन्द हुनेगरी कार्यक्रम गर्नुहुँदैन । विदाको दिन मिलाएर गर्दा पनि हुन्थ्यो ।’  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्