मोदी काठमाडौं बाहिर जानुहुन्नः भारतीय विदेश मन्त्रालय प्रवक्ता
Advertise Here Book Now
काठमाडौ, मंसिर ७ - अन्यौलका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्ततः काठमाडौं बाहिर नजाने पक्का भएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदीको काठमाडौं बाहिरको भ्रमण रद्द भएको औपचारिक जानकारी दिएका छन् । 'भारतका घरेलु प्रतिबद्धताका कारण सार्क सम्मेलनमा नेपाल भ्रमणकाक्रममा प्रधानमन्त्री मोदीको यात्रा मात्र काठमाडौंमा हुनेछ ।'
विदेश मन्त्रालयका प्रवक्ता अकबरुद्दिनले मोदी नेपाल-भारतको सम्बन्धलाई गहिरो महत्त्व दिएकोसमेत बताएका छन् । उनले समय मिलाएर नेपालका बाँकी ठाउँका भ्रमण गर्ने टि्वटमा उल्लेख गरेका छन् ।
सार्क शिखर सम्मेलनमा नेपाल आउँदा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने तय भएको थियो । मोदीको जनकपुर भ्रमण रद्द भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ती जारी गरेपछि मन्त्रिपरिषद् सदस्यभित्रै तनाव बढेको थियो ।
मन्त्री निधिले एमाओवादीसहित केही मधेसी दलको कारण देखाउँदै मोदीको भ्रमण रद्द भएको भन्ने आरोपले विपक्षी दल पनि चिढिएका थिए ।
भोलिपल्ट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, गृहसचिव सूर्य सिलवाल र भारतीय राजदूत रणजीत रायले भ्रमण रद्द नभएको दाबी गरेका थिए ।
मोदीको जनकपुर भ्रमण यथावत् रहेको जानकारी दिने परराष्ट्र मन्त्रालय शनिबार राति अबेरसम्म आफैं अन्यौलमा थियो । भारतमा नेपाल भ्रमणबारे आइतबार साँझ ब्रिफिङ हुँदैछ ।


