सभापति भट्टराई दिनभर परामर्शमा व्यस्त
Advertise Here Book Now

सहमतिबाटै अघि बढ्न सभापतिलाई वरिष्ठ अधिवक्ताहरुको सुझाव

ऑनलाइन सिरहा डटकम  ओम प्रकाश , ३ मंसिर । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आज दिनभर विभिन्न दल, सभासद् तथा विज्ञहरुसँग परामर्श गर्नुभएको छ । आजको परामर्शका क्रममा वरिष्ठ अधिवक्ताहरुले सभापति भट्टराईलाई सहमतिद्वारा नै अहिले देखिएको गतिरोध अन्त्य गर्न सुझाव दिनुभएको छ । सभापति भट्टराईले आज संविधानसभा नियमावली निर्माणमा समेत संलग्न रहनुभएका बरिष्ठ अधिवक्ताहरु हरिकृष्ण कार्की, शेरबहादुर केसी, खिमलाल देवकोटा, पूर्णमान शाक्य, शंकरकुमार श्रेष्ठ र श्याम खरेलसँग परामर्श गर्नुभएको थियो ।

‘उहाँहरुले धेरै महत्वपूर्ण सुझावहरु दिनुभएको छ । उहाँहरुको एउटा मननीय पक्षचाहीँ मैले के मानेको छु भने हामी लोकतन्त्रमा विधिको शासन पालन गर्नुपर्छ त्यसैले विधि, नियम, नियमावलीको पनि महत्वपूर्ण भूमिका हुन्छ’, परामर्शपश्चात सभापति भट्टराईले भन्नुभयो – ‘तर फेरि अन्तत: यो संविधान निर्माणको प्रक्रिया भनेको एउटा त राजनीतिक सहमतिको दस्तावेज निर्माण गर्ने प्रक्रिया पनि हो । त्यसैले अन्तत: राजनीतिक ढंगले नै समस्याको समाधान गर्नुपर्छ भन्ने कुराहरु त्यहाँ आएको छ ।’

यसपटकको संविधानसभाका समितिहरुको संरचना र कार्यविधि मूलरुपमा बहुमत, अल्पमतको ढंगले टुंगो लगाउने नभइकन सहमतिकै ढंगले टुंगो लगाउने र जुन सहमति नभएका कुराहरु छन् त्यसलाई सहमति नभएको भनेर संविधानसभामा पठाउने विधि निर्धारण गरिएको वरिष्ठ अधिवक्ताहरुले बताउनुभएको थियो ।

‘पहिलो संविधानसभाका विषयगत समितिमा निर्णय गर्ने तरिका चाहीँ बहुमत, अल्पमतले पनि टुंग्याउने भन्ने थियो तर यसपटक चाहीँ संविधानसभाका कुनै पनि समितिमा बहुमत, अल्पमतको तरिकाले टुंग्याउने प्रावधान राखिएको छैन र सहमतिले नै टुंगो लगाउने र सहमति हुन नसकेका विषयहरु यी हुन् भनेर संविधानसभालाई जानकारी गराउने भन्ने नै मूल स्पिरिट हो भन्ने सुझावहरु उहाँहरुबाट आयो’, सभापति भट्टराईले भन्नुभयो – ‘उहाँहरु यो नियमावली निर्माण गर्ने क्रममा पनि संलग्न हुनुहुन्थ्यो । उहाँहरुबाट आएका यी सुझावहरु मैले मननीय ठानेको छु र मैले समितिमा यी कुराहरुलाई राखेर निष्कर्षमा पुग्ने र अहिले कायम रहेको गतिरोध टुंगो लगाउने प्रयत्न गर्नेछु ।’

सभापति भट्टराईले आज नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, नेकपा एमालेका सभासद् जीतबहादुर दर्जी, परिवार दलका अध्यक्ष तथा सभासद् एकनाथ ढकालसँग पनि छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो । त्यसैगरी संवाद समितिमा रहेका विभिन्न २० वटा दलहरुसँग पनि सभापति भट्टराईले सामूहिकरुपमा परामर्श गर्नुभएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्