३० दलीय मोर्चा त्यत्तिकै वार्तामा जाँदैन : गच्छदार
Advertise Here Book Now
विजय कुमार गच्छदार
प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको आव्हान गर्दै विज्ञप्ति जारी गरे पनि आन्दोलनमा उत्रिएका विपक्षीहरु अझै वार्तामा गएका छैनन् । उनीहरु वार्ताको विश्वसनीय वातावरण अझै नबनिसकेको भन्दै सहमतिमा मात्र संविधान जारी हुने प्रतिबद्धता आउनुपर्ने बताइरहेका छन् ।
यसै क्रममा ३० दलीय मोर्चामा रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षले विश्वस्त नपारेसम्म ३० दलीय मोर्चा वार्तामा नबस्ने बताउनुभएको छ ।
फोरम लोकतानित्रक धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले सत्तापक्षले बहुमतको आडमा विगतमा भएका विभिन्न सम्झौता र सहमतिलाई उल्टाएर संविधान निर्माण गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “सहमतिबिना संविधान निर्माण हुन सक्दैन, भए पनि त्यो टिकाउ हुँदैन, त्यसकारण सहमति नै समस्याको समाधान हो ।”
सत्तापक्षले एकतर्फी रुपमा संविधान निर्माण प्रक्रिया अघि बढाएर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको उहाँको भनाइ थियो ।
“मैले आफ्नो राजनीतिक अनुभव, चिन्तन र विवेकका आधारमा मुलुकलाई द्वन्द्वबाट जोगाउन मध्यमार्गी प्रस्ताव ल्याएको थिएँ” – उहाँले भन्नुभयो ।
माघ ८ पछि आफ्नै प्रस्तावमा केन्द्रित भएर दलहरुले आन्तरिक छलफल र बहस गरिरहेको उहाँको दाबी थियो ।