जटाधारी बाबा हेर्नेको भीड
Advertise Here Book Now
गुल्मी, फाल्गुन २८ - सदरमुकाम तम्घास नजिक अर्जुनडाँडास्थित अर्जुनसिद्ध गुफामा जटाधारी साधु आएर बसेपछि हेर्नेको भीड लागेको छ। ५ वर्षअघि फेला परेको गुफाको करिब २० मिटर लामो सुरुङभित्रको गुफामा १२ दिनअघि उनी आएर बसेका हुन्। ५ फिट कदका उनको ८ फिट लामा जटा छन्। छुट्टै त्रिशुल राखेर त्यसमाथिबाट घुमाएको उनको जटा र कुनै अन्न सेवन नगर्ने उनको प्रवचन भने वैज्ञानिक छ।
'अन्न भनेको माटो हो,' दूध र जडिबुटी मात्र खाने उनले भने, 'माटोमा उत्पत्ति हुने सय चीजमध्ये ९९ मा बुटी हुन्छ, त्यसैलाई हामीले उपयोग गर्ने हो।' अन्दाजी ७० वर्षका उनले शरीरमा कुनै वस्त्र लगाएका छैनन्। विभिन्न वेद उल्लेख गरिएका चित्रसहितको दुई रङको सादा कपडा टाउकोबाट छिराएर शरीर ढाकेका छन्। चिसो भुइँमा बस्ने, दूध नभए स्थानीय जडिबुटीका पात, फूल पानीमा उमालेर सेवन गर्ने उनले बिहान-साँझ दियो मात्र बाल्ने गर्छन्। 'डाँडामा आउँदा गत आइतबार दिउँसो पानी परिरहेका बेला आउनुभएको हो,' अर्जुनडाँडामै रहेका नेपाल टेलिभिजनका प्राविधिक जयशंकर त्रिपाठीले भने, 'तर, गुफाभित्र भने राति २ बजे मात्र पस्नुभएको हो।' आफ्नो गुफा पस्ने समय राति भएको भन्दै उनी मध्यरातको अँध्यारोमै गुफाभित्र पसेको उनले बताए।
उनी आएपछि हेर्ने, सुन्नेको भीड लागेको अर्जुन भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर थापाले बताए। 'फलाधारीलाई आहारको व्यवस्था मिलाएका छौं,' उनले भने।

