सिरहामा महिला प्रहरीप्रति ३० प्रतिशत विश्वास
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,दिनेश्वर गुप्ता ।लहान, १४ असार । लैंगिक हिंसा तथा शोषणबाट प्रभावित एवं पीडित महिला तथा बालबालिकालाई सामाजिक सहयोगका साथै कानुनी संरक्षण गर्दै तिनीहरुको असहायपनलाई न्यूनिकरण गर्ने उद्देश्यले प्रहरीभित्र छुट्टै महिला तथा वालबालिका सेवा केन्द्र स्थापना गर्ने भएको छ ।
नेपाल प्रहरी र एशियाली विकास बैंकको आयोजनामा आज लहानमा एक दिने गोष्ठी गर्दै सो उद्देश्यवारे सार्वजनिक गरेको छ । ७५ प्रतिशत भन्दाबढी समुदायका आवाजलाई प्रतिविम्ब गर्नको लागि यो परियोजना सवल हुने भन्दै नेपाल प्रहरीका एसएसपी कृष्णप्रसाद गौतमले महिला तथा बालबालिकाको हक अधिकारको संरक्षण, राज्यले दिएको अधिकार र हिंसा विरुद्ध अभियान चलाउंन यो सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहने बताउंनुभयो ।
यहां २५ प्रतिशतले सहज सुविधा पाउंने गरेको अवस्था छ, बांकी पीडितहरुलाई विचौलियाले ओझेलमा पार्ने गरेको कारण महिला तथा बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, हक अधिकार, राज्यले दिएको सेवा सुविधा तथा न्यायको लागि यो परियोजना ल्याएको एसएसपी गौतमले बताउंनुभयो ।
कार्यक्रममा परियोजनाका फोकल पर्सन डिएसपी बासुदेव पाठकले प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रप्रति सिरहामा ३० प्रतिशत, सप्तरीमा २५ प्रतिशत र महोत्तरीमा २० प्रतिशतले विश्वास गरेको सार्वजनिक गर्नुभयो । मधेशमा ब्राह्मण क्षेत्री बढी सन्तुष्ट र दलित समुदायहरु सबभन्दा कम सन्तुष्ट रहेको डिएसपी पाठकले बताउंनुभयो ।
डिएसपी पाठकले घरेलु हिंसाको मुख्य कारण दाईजो २५ प्रतिशत, जांडरक्सी पिउने ३३ प्रतिशत, बहुविवाह १० प्रतिशत र अरुसंगको आंशक्ति १३ प्रतिशतले अपराध तथा हिंसा हुने गरेको सो कार्यक्रममा सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चर्तुवेदीले सिरहामा बोक्सी र जातीय विभेदको कारण महिला तथा बालबालिकामाथी बढी हिंसा हुने गरेको बताउंदै लैगिंक अर्थात महिला तथा बालबालिकामाथी हुने हिंसा विरुद्ध एक भएर अघि बढ्नुपर्ने बताउंनुभयो ।
हिंसा न्यूनीकरणका लागि चेतना जागरण, समूह परिचालन, विद्यालय सचेतना, समुदायद्धारा हिंसाका समस्याहरुको समाधान, संचार, कानुनी सहायतालगायतको क्रियाकलापहरु संचालनमा डिएसपी चर्तुवेदीले जोड दिनुपर्ने बताउंनुभयो । कार्यक्रममा डा.महादेव साह, परियोजना कोअडिनेटर सुलोचना श्रेष्ठ, फिनाइन्स आंफिसर चन्द्रप्रसाद चौलागाईले लैगिंक हिंसा विरुद्ध अभियान चलाउंन जोड दिनु भएका थिए ।
कार्यक्रम संचालनको लागि लहान नगरस्तीय सरोकारवाला एवं नागरिक समाजलगायतको संजाल गठन गर्ने भएको छ । शुरुमा ५ जिल्लामा पाईलट परियोजनाको रुपमा संचालन रहेको छ भने थप १५ जिल्लामा लागु भएको छ ।

