नेपाल मै युवालाई रोजगारको अवसर, तलब दैनिक एक हजार रुपैयाँ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ,असार २१ गते भक्तपुर, २१ असार । स्वदेशमा रोजगारी नपाएर युवाहरु विदेश गइरहेका बेला भक्तपुरमा भने रोजगार दिँदा पनि गरिदिने मान्छे छैनन् । अहिले रोपाईको सिजन हो, तर, यहाँ ज्यामी नपाउँदा रोपाइँ खेती नै प्रभावित भएको छ । यहाँका जमिनदारहरुले ज्यामीका रुपमा दैनिक एक हजार रुपैयाँ पारिश्रमिक दिने गरी एक हजार कामदार माग गरेका छन् । महामञ्जुश्री नगरकोट नगरपालिका ताथली सौडोलका सानुभाइ गिरीले धान रोप्ने ज्यामी नपाए पछि खेतमा भएको पानी सुकेर गएको छ । दिनमा रु एक हजार ज्याला दिँदा पनि ज्यामी नपाए पछि यस वर्ष खेत बाझै हुने चिन्ताले उहाँलाई सताउन थालेको छ । भूकम्पले भएको दुईवटै घर भत्काएर पालको बास भएको उहाँको परिवारमा काम गर्न सक्ने दुईजना मात्रै भएकाले रोपाइँमा निकै समस्या परेको गिरी बताउनुहुन्छ । “एकातिर पालको बाँस छ, अर्कोतर्फ खेतमा टन्नै पानी हुँदा पनि धान रोप्न पाइएको छैन, खेत बाझै रहला भन्ने चिन्ता लाग्न थालेको छ ।” गिरीको मात्रै होइन अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटमा शिवराम खत्रीको समस्या पनि उस्तै नै छ । विगतका वर्षमा सहजै ज्यामी पाइने भए पनि यस वर्ष ज्यामी अभावमा रोपाइँ गर्न नपाएको उहाँ बताउनुहुन्छ । विगत वर्षमा रामेछाप, सिन्धुपाल्चोक, काभ्रेदेखि पुरुष ज्यामी गाउँमै आएर बस्ने र काम गर्ने गरेकाले सहज हुने गरे पनि यस वर्ष कतैबाट पनि ज्यामी नआएपछि रोपाइँ नै प्रभावित भएको हो । गाउँमा भएका धेरैजसो पुरुष विदेश जाने, विभिन्न निकायमा नोकरी गर्ने भएकाले पनि पुरुष ज्यामीको चरम अभाव भएको छ । अर्कोतर्फ महिला ज्यामी पनि आफ्नै खेतमा रोपाइँ गर्न थालेपछि ठूला खेती हुनेलाई निकै समस्या परेको छ । चाँगुनारायण नगरपालिका पिखेलका मैयादेवी श्रेष्ठले यस वर्ष पुरुष र महिला ज्यामीको अभावले पानी परे पनि बेलैमा रोपाइँ गर्न नपाएको बताउनुभयो । कुलो लाग्ने खेतमा जेठको अन्तिममै रोपाइँ सकेर टार खेतमा वर्षाको पानी भरिएपछि रोपाइँ हुने भक्तपुरका अधिकांश ठाउँमा यस वर्ष वर्षा ढिलो हुनाले जेठमा रोपाइँ हुन नसक्दा पनि ज्यामीको अभाव भएको हो । यस वर्ष पुरुष ज्यामीको खाजा खुवाएर दिनको रु एक हजार र महिला ज्यामीको रु ७०० मा काम भएको छ । बिहानको काममा भने पुरुष ज्यामीको रु ५०० र महिला ज्यामीको रु ३५० ज्यालामा काम भइरहेको छ । गत वर्षभन्दा यस वर्ष ज्यालामा ४० प्रतिशतले वृद्धि भए पनि ज्यामीको अभाव भएपछि जिल्लाभरि नै रोपाइँ प्रभावित भएको हो । जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्ण ढुङ्गानाले यस वर्ष काम गर्ने ज्यामी अभावमा रोपाइँ ढिला भएको बताउनुभयो । कुलो लाग्ने ठाउँमा ५० प्रतिशत रोपाइँ भए पनि अन्य क्षेत्रमा भने १० देखि १५ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्