प्रहरीको उपस्थितिमा पुलकितले इनार प्रयोग गरे
Advertise Here Book Now

  • गाउँलेले इनार प्रयोग गरेनन्, सुरक्षार्थ प्रहरी तैनाथ

  • लहान, श्रावण २० - इनारमा पानी भर्न नपाएकै कारण भोक प्यासै रात काटेका सिरहा धनगढी ३ नयनपुरका ६५ वर्षीय वृद्ध दलित पुलकित मल्लिक डोमको परिवारले प्रहरी र प्रशासनको उपस्थितिमा इनारबाट पानी भरेको छ ।
    इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चर्तुवेदी, जिल्ला प्रशासनका शाखा अधिकृत रन्जित अधिकारी र गाविस सचिव अशेष लम्सालको टोलीले मल्लिक परिवारलाई रामऔतार महतोको घर अगाडिको इनारबाट पानी झिक्न लगाई प्रयोग गराएको हो ।
    pulakit-malikइनारबाट पानी झिकेपछि डोम परिवारको सुरक्षार्थ प्रहरीले असई शिरबहादुर राईको नेतृत्वमा अवस्था सहज नहुन्जेलसम्मको लागि प्रहरी टोली खटाएको छ ।
    पानी निकाल्न नपाएपछि ६५ वर्षिय पुलकितदेखि तीन वर्षिया सृजनासम्म परिवारका १४ जना भोकै परेका थिए ।
    डोम परिवारले पानी भरेपछि गाउँलेहरुले भने तल्लो जातिले इनार छोएको भन्दै पानी प्रयोग गरेका छैनन् । ‘हामीले डोम परिवारलाई नै इनार प्रयोग गर्न छाडिदियौं,’ स्थानीयले भने, ‘डोम जातिले प्रयोग गरेका कारण इनारको पानी गाई, भैसीलाई पानी खुवाउन मात्र प्रयोग गरेका छौं, टोलबासीले पीउने पानी अरु छिमेकीको इनारबाट प्रयोग गरेका छौं ।’
    नयनपुर टोलमा महतो, खत्वे, खड्का, मुसहर, सहित पुलकीत र उनका भिन्न भएका दुई छोराको बसोबास छ । पुलकीतका बुबा जुरी डोम परिवार सिरहाको सन्हैठाबाट २००७ सालमै बसाई सरी आएदेखि पुलकितको ६ छोरा–बुहारी र दुई छोरीसहितको परिवार धनगढी ३ मा बसोबास गर्दै आएका छन् ।
    डोम परिवारले पहिलेदेखि नै यो इनारको पानी खाँदै आएको थियो । तर, पानी भर्ने काम भने गाउँलेले गरिदिन्थे । यो परिवारले इनार छुन पाउँथेन । पानी भरिदिए वापत् डोम परिवारले पानी भरिदिने परिवारलाई बासका पंखा, ढक्कीजस्ता सामाग्री दिने गर्थे ।
    आइतबार नेपाली फिल्मका अभिनेता राजेश हमालसहितको टोली आइपुगेपछि डोम परिवारले आफैं पानी भर्ने प्रयास गरेको थियो ।
    ‘२००७ सालदेखि बसिआएको गाउँको इनारबाट पहिलो पटक आइतवार पानी पाइनँ,’ पुलकितले भने ।
    अरुको जग्गामा बसोबास गर्दै आएका पुलकितको परिवारले बासको सामग्री ढकी, पंखा, ढोक्सो, मोहोला, डाला (तराईमा विवाहमा प्रयोग गरिने सामाग्री) बिक्री र बंगुरपालन गरी गुजारा चलाउँदै आएका छन् । ‘तीन दिनदेखि पानी नपाउँदा ती सामाग्रीहरु बनाएर बिक्री गर्न पाएका छैनौं,’ पुलकितले भने ‘पानी नै नभएपछि जीवन काट्नै कठिन भयो ।’
    उता, इनारधनी रामऔतार सहित गाउँलेले बाजे पुर्खादेखि नै दलित डोम परिवारलाई पानी भरेर दिने चलन रहेको दावी गर्दै दलित–दलित बीच छुवाछुत हटे आफुहरु पनि सहजरुपमा पानी भर्न दिने बताउँछन् । प्रहरीले जबरजस्ती इनारबाट पानी भराएको भन्दै उनीहरुले आक्रोश पोखे ।
    जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ ले छुवाछुत र जातीय विभेदलाई दण्डनीय मानेको छ । त्यस्तो कसुर गरेमा एक वर्षदेखि तीन वर्षसम्म कैद र १ हजारदेखि २५ हजार जरीवाना र क्षतिपुर्ति समेत दिलाउने व्यवस्था छ । तर, प्रहरीले ऐन अनुसार कारवाही नगरेकोप्रति दलित अधिकारकर्मीहरुले असन्तुष्टि जनाएका छन् ।
    वर्षौदेखि पानीको समस्या
    सिरहाको उतरवर्ती धनगढी लगायत क्षेत्रमा वर्षौदेखि इनार सुक्ने समस्या विकराल छ । यसवर्ष पनि त्यसक्षेत्रमा पानीको समस्या चरम छ । धनगढी ३ नयनपुरमा समेत २५ घर दलित मुसहरसहित तीन घर डोम परिवारलाई लक्षित गरी जिविसले २०४१ सालमा इनार निर्माण गरिदिएको थियो ।
    तर, हिउँद र वर्षायाम दुवै समयमा इनार सुकेपछि डोमसहित मुसहर समुदायले छिमेकी रामऔतार महतोको इनारको पानी प्रयोग गर्दै आएका थिए ।
    दलितमध्येकै मुसहर समुदायलाई निर्धक्क सहजरुपमा पानी भर्न दिइए पनि डोम परिवारलाई भने पानी भर्न दिएको दिइएको छैन ।         स्रोत;ई कान्तिपुर 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्