सरकार पछि हट्दै ,मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन गर्ने प्रमुखदलहरुको निर्णय
Advertise Here Book Now



काठमाडौँ, ७ मङ्सिर / सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई मधेसवादी दलको सहमतिमा नै पारित गर्न तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा वार्ता र संवादका आधारमा तराई मधेसमा देखिएको समस्यालाई समाधान गर्ने र एकमत बनाएर अगाडि बढ्ने सहमतिसमेत भएको छ ।

नेपाली काँग्रेस नेतृत्वको सरकारले गत असोज २० गते सदनमा संविधानको पहिलो संशोधन विधेयक दर्ता गरेको थियो । सो संशोधन विधेयकमा समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्ने, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्नेलगायतका विषय समेटिएका छन् ।

यद्यपि मधेसी मोर्चामा आबद्ध दलले भने सो संशोधन प्रस्ताव अपूरो र अधुरो रहेको भन्दै आफूहरुको असहमति रहेको बताउँदै आएका छन् । उनीहरुले सीमाङ्कनको विषयमा प्रस्ट खाका नआइकन संविधान संशोधन गरिए पनि आफूले स्वीकार नगर्ने अडान राख्दै आएका छन् ।

आजको बैठकले भने मधेसवादी दलहरुसँग सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलले छुट्टाछुट्टै छलफल गर्ने र प्राप्त हुने निष्कर्षका आधारमा पुनः द्विपक्षीय छलफल गर्ने निष्कर्ष निकालेको छ ।

नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आन्दोलनरत दलसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले काँग्रेसको सरकार रहँदा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउन मधेसी मोर्चासँग छलफल गर्ने र त्यसमा केन्द्रित रहेर छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्