भित्र राष्ट्रपतिद्वारा पुजाआजा, बाहिर कालोझण्डा र पेट्रोल बम
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पौष १/विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्या भण्डारी बुधबार बिहान
जनकपुर पुगिन् । राष्ट्रपति भण्डारी जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक
महत्वको जानकी मन्दिरमा पूजा अर्चना गर्न त्यहाँ पुगेकी हुन् ।तर, भण्डारी जनकपुर जाने खबरसँगै तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरमा व्यापक विरोध प्रदर्शन गरे भने सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत हुन पुग्यो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार समेत गरेको आन्दोलनकारीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पनि राष्ट्रपतिको जनकपुर आवागमनलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको र सो क्रममा अराजक गतिविधि गर्नेहरुलाई तितरवितर पार्ने क्रममा केहि बल प्रयोग भएको स्पष्ट पारेको छ ।
प्रहरीले प्रदर्शनकारीलाई बल प्रयोग गरेर तितर वितर पारेपछि आक्रोशित प्रदर्शनकारीले राष्ट्रपतिले जानकी मन्दिरमा पुजाआजा गरिरहँदा बाहिर कालोझण्डा प्रदर्शन गर्दै पेट्रोल बम समेत प्रहार गरेका छन् । यद्यपी कुनै अप्रिय घटना भने भएको छैन ।
राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत जनकपुर पुगेकी थिइन् भने हेलिकप्टरलाई अञ्चल प्रहरी कार्यालयको प्रांगणमा ल्याण्ड गरेर मध्यान्ह १२ बजे जानकी मन्दिर पुगेकी थिइन् । त्यहाँ झण्डै १४ मिनेट उनले पुजाआजामा समय खर्चिएकी थिइन् ।
मधेसी मोर्चाको तनावलाई छिचोल्दै पुजाआजा गरेर भण्डारी राजधानी फर्किसकेकी छन् ।

