मधेसमा एमपिएल प्रतियोगिता,१६ क्रिकेट टिम सहभागी हुने
Advertise Here Book Now
जनकपुर, १९ असोज । मधेशलाई खेलकुदमा पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यकासाथ गठन गरिएको मधेश प्रिमियर लिग (एमपिएल) अन्तर्गत दोस्रो चरणको प्रतियोगिता सञ्चालन गर्न लागिएको छ ।
आगामी कात्तिक दुई गते जनकपुरस्थित कबर्डहल मैदानमा उद्घाटन गर्न लागिएको प्रतियोगितामा मधेशका विभिन्न २० जिल्लाबाट १६ वटा क्रिकेट टिमले भाग लिने एमपिएल अध्यक्ष संजीवनारायण यादवले जानकारी दिएका छन् । पहिलो पटक राजविराजमा प्रतियोगिता गराएर संस्थागत प्रयास सुरु भएको एमपिएलले कात्तिक २ गते जनकपुरमा दोस्रो प्रतियोगिताको उद्घाटन गर्न लागिएको यादवले बुधबार जनकपुरमा पत्रकार सम्मेलन मार्फत बताएका छन् ।मधेशमा उत्कृष्ट प्रतिभावान खेलाडिहरु रहेपनि विभेदको कारण राष्ट्रिय टोलीमा समेटिन नसकिने खेलाडीहरुलाई प्रोत्साहित गर्ने उदेश्यले एमपिएल गठन गरेको एमपिएलका सल्लाहकार डा.विरेन्द्र यादवले जानकारी दिए । उनले केही वर्ष भित्र नेपाल भन्दा पनि मधेशको नाम खेलकुद जगतमा बढी प्रख्यात हुने दावी गरे ।
पत्रकार सम्मेलनमा सहभागी क्यान यु–१९ टोलीका पूर्व कप्तान दिव्यांशु मल्लिकले आफूलाई उत्कृष्ट बलरको दावी गर्दै जातिय विभेदकै कारण अन्तर्राष्ट्रिय खेलमा भाग लिन नपाएको गुनासो गरे । ‘नेपालको खेल क्षेत्रमा राम्रोलाई होइन हाम्रोलाई प्राथमिकता दिने परिपाटी छ’ मल्लिकले भने, ‘मधेश समुदायका थुप्रै राम्रा खेलाडी प्रोत्साहन नपाएर प्रतिभा प्रदर्शन गर्न पाइरहेका छैनन् ।’
दिव्यांशुजस्तै अनिल मण्डल र महबुब आलमजस्ता कयौं खेलाडी क्यानको विभेदमा परी निरुत्साहित भएको दावी गर्दै एमपिएल अध्यक्ष यादवले ती खेलाडीहरुको मनोबल टुट्न नदिन र अन्य प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न अगाडि बढेको आयोजकले दावी गरे । एमपिएललाई गैरआवासीय मधेशी संघ, मधेशी इन्जिनियरिङ स्टुडेन्ट युनियन र अमेरिकास्थित मधेशी एराउन्ड द वल्र्ड एशोसिएशनलगायत संघसंस्थाले सहयोग गरिरहेको अध्यक्ष यादवले जानकारी दिए ।

