छठ पर्वमा ६ करोडभन्दा बढीको कारोबार
Advertise Here Book Now

रोहित कुमार मण्डल
लहान, २० कार्तिक । तराईमा विशेष महत्वका साथ मनाइने छठ पर्वका लागि सिरहामा मात्र ७ करोडभन्दा बढीको कारोबार भएको छ । शनिबारदेखि नै शुरु भएको यो पर्वको लागि आवश्यक पर्ने सामग्रीहरुको कारोबार सिरहाको प्रमुख बजारहरुमा ह्वात्तै बढेपछि यसैका साथ भएको मूल्यबृद्धिले गर्दा त्यत्तिको व्यापार भएको स्थानीय व्यापारीहरुले जनाएका छन् ।
छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केराको एक घरी, उखु, भोगटे, ज्यामिर, निबुवा, हरियो पातसिहितको अदुवा, बेसार, मुला, नरिवल, ओल, सुथनी जस्ता सामग्री तथा पर्व मनाइने खोलानाला र पोखरीको साजसज्जामा प्रयोग हुने विधुतीय सामग्रीहरु, व्रतालु महिलाले प्रयोग गर्ने लत्ताकपडा र गरगहनाको कारोबारका कारण यो वर्ष सिरहा जिल्लाका सबै बजारहरुमा गरी करीब पाँच करोडभन्दा बढी मूल्यको कारोबार भएको स्थानीय व्यापारीहरु बताउछन् ।
छठ पर्वको बेला सबैभन्दा बढी कारोबार महिलाले लाउने वस्त्र र आभुषण, केराको घरी, ढाकी, सुपा, कोनिया, फलफूल तथा साजसज्जामा हुने गरेको पाइयो । यो पर्वको लागि व्रतालु महिलाले मात्र दुई वटा साडीसहितको वस्त्र र त्यस अनुसारको गरगहना लगाउने गरेका छन् । पर्वस्थल खोलानाला तथा पोखरीमा महिला तथा युवतीहरुले लगाउने पहिरनका कारण त्यहाँ एक किसीमको सामाजिक फेशन शोजस्तै देखिन्थ्यो ।
छठ पर्व मनाइएका खोलानदी, पोखरी तथा दहहरुमा राम्रो कपडा र गरगहना लगाई महिलाहरु यसपालि पहिरनको प्रतिष्पर्धामा उत्रिएको टन्नै देखिन छ । यो पर्वमा बेला प्रत्येक पुरुष तथा महिलाहरुले नयाँ र राम्रो कपडा तथा गरगहना लाउनुपर्ने अनि मिठो परिकार खानुपर्ने परम्परा नै रहेको कुशहा निवासी सत्य नारायण चौधरीले जानकारी दिए ।
वस्त्र, गरगहना, केराको घरी तथा अन्य सामग्री गरी आयस्तरको आधारमा एक परिवारको न्युनतम अढाई हजारदेखि १० हजारसम्म खर्च हुने गरेको चौधरीले बताए । सिरहाका बजारहरुमा केराको एक घरीको मूल्य न्युनतम चार सयदेखि पाँच सय रुपियाँ रहेको छ ।
यस पर्वमा आवश्यक पर्ने बाँसबाट निर्मित नाङ्लो, ढाकी, डगरा, कोनिया जस्ता समानहरुको विक्री बढेपछि मलहनमाका चलित्तर रामा मरिकले राम्रो आम्दानी गरेको बताए । अरुबेला ५०÷६० रुपियाँमा विक्री हुने नाङ्लो यसपालि डेढ सयदेखि दुई सय रुपियाँसम्ममा विक्री भएकोले आफूले राम्रै आम्दानी गरेको उनले बताए ।
सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको लहान, गोलबजार, मिर्चैया, सुखिपुर, सिरहा, धनगढी, छपराडी, कुशहालगायतका बजारहरुमा छठ पर्वको सामग्रीहरु खरीद विक्रीका लागि राम्रै चहलपहल रह्यो । अरुबेला सामान्य विक्री हुने माटोबाट निर्मित हात्ती, घैंला, ढकना, मटकुरी, फुच्चि (गिलास) लगायतका सामग्रीहरु खरीद गर्न सर्वसाधारणहरु तछाडमछाड गरेको देखिन्थे ।
‘छठ पर्वको लागि आवश्यक पर्ने फलफूल, अदुवाको बोट, उखु, सुथनी, केरा, पानी फल, नरिवल, बोडी, नाङ्लो, केनिया, ढाकी, माटोको दियो, कराई लगायतका प्रत्येक सामग्रीको मूल्य अरु दिनको तुलनामा यस बेला अत्यन्तै महङ्गो भएको छ’, कुशहा निवासी ब्रतालु सत्य नारायण चौधरीले भने–अरु दिनमा ५० रुपियाँमा पाइने सामग्री यसबेला डेढ सयदेखि दुई सयसम्म परेको हुनाले हामीजस्ता सर्वसाधारणको ढाड खुस्किएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्