सिके राउत पक्राउपछि मधेसमा जागेका युवाहरुबाट पाठ सिकौ
Advertise Here Book Now

अँनलाइन सिरहा डटकम २२ माघ । सरकारले गत विहीबार डा सिके राउतलाई पक्राउ गरेपछि मधेस अहिले अशान्त भएको छ । सिके राउतका समर्थकहरुले मधेसका विभिन्न जिल्लामा सडकमा निस्केर प्रदर्शन गरेका छन् । सरकारले कतिपयलाई पक्राउ गरेको समाचार आएको छ । तर, उनका समर्थकहरु कतिलाई पक्रेर जेल हाल्न सकिएला ? यो प्रश्न गम्भीर बनेको छ । मधेस अलग राष्ट्र बन्नुपर्ने आन्दोलन सिके राउतको मुख्य गतिविधि हो । उनले सुरु गरेको यो आन्दोलनमा सबै मधेसीहरु छन् भन्ने हैन । मधेसी मोर्चाका नेताहरुले पनि सिके राउतका एजेन्डामा सहमत हुन नसकिने जनाइसकेका छन् । तर, वर्षौदेखि राज्यको उत्पीडनमा परेका मधेसका एक खालका सचेत युवाहरु अहिले आक्रोशित बनेका छन् । काठमाडौका शासकहरुले मधेसलाई जहिल्यै विभेद गर्ने र पहाडे नश्लवादीहरुको चिन्तनमा मधेसी जनताप्रति घृणा मात्रै रहेको मधेसी युवाहरुको बुझाइ छ । सिके राउतले देश विखन्डन गर्न खोज्यो भनेर आक्रोश पोख्नेहरुले सिके राउत जन्मनुको कारण खोज्नुपर्छ । सिके राउतले मधेस र मधेसीप्रति राज्यले पहाडीय शासक समुुदायले गरेको विभेदको कुरा उठाएका छन् । वर्षौदेखिको विभेदले मधेसीहरु पिल्सिएको उनको तर्क छ । उनको यो तर्क त मान्न सकिएला तर यसको समाधान मधेस अलग देश बनाएर गर्नुपर्छ भन्ने तर्क नेपाललाई माया गर्ने कसैले पनि मान्न सकिदैन । सिके राउत र उनका समर्थकहरुभन्दा अहिले राज्य चलाउने काठमाडौका शासक, शासकका आसेपासे र पहाडे अहंकारवादीहरु सचेत हुनुपर्छ । सिके राउत पक्राउपछि मधेसमा जागेका युवाहरुको आन्दोलनबाट शासकहरुले पाठ सिक्नैपर्छ । यो समस्या राजनीतिक भएकाले राजनीतिक रुपमै समाधान गर्नुपर्छ । मधेसी जनतामाथि भइरहेको विभेद अन्त हुने गरी मधेसी जनतालाई अधिकार दिनुपर्छ । मधेसी जनताप्र्रति सम्मान र समानता हुनुपर्छ । कालो अनुहार देख्नेबित्तिकै विहारी ठानिरहने हो भने काठमाडौमा बस्ने जनकपुरका युवालाई इन्डियन भेले भनिरहने हो भने यो खालको गलत मानसिकता नबदलिने होे भने समस्या समाधान हुँदैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्