अस्थायी शिक्षकहरुको परीक्षाको मिति चैत अगाडी नै तोक्ने आयोगको तयारीे
Advertise Here Book Now

भक्तपुर । शिक्षक सेवा आयोगले आउँदो चैत अघि नै शिक्षक परीक्षाको मिति तय गर्ने जनाएको छ । आयोगले सर्वोच्च अदालतमा परेको मुद्दा र चलिरहेको विद्यार्थी आन्दोलनको अवरोधका बीच परीक्षाको मिति तय गर्न लागेको हो ।आयोगका प्रशासकीय प्रमुख तुलसी थपलियाले परीक्षाको मिति चैत अगाडी नै तय गर्ने तयारीमा आयोग जुटेको जानकारी दिए । उनले परीक्षा दिने सबै शिक्षकहरुको टुङ्गो नलागेकाले परीक्षा मिति तय गर्न केही कठिनाइ भएको बताए ।अहिले ठ्याक्कै मिति त नतोकौं तर चैत अगाडि नै हामी परीक्षाको मिति तय गर्नेछौं,’ थपलियाले भने ।केही शिक्षकहरुले परीक्षाको फारम भर्दा आवश्यक कागजात नबुझाएकाले उनीहरुलाई परीक्षामा सहभागी हुन दिने कि नदिने भन्नेमा छलफल पछि कागजात बुझाउन माघ २५ सम्मको म्याद दिइएको उनले जानकारी दिए ।माघ २५ गते भित्र आवश्यक कागजात नबुझाउनेले परीक्षामा सहभागी हुन नपाउने समेत थपलियाले स्पष्ट पारे ।नबुझाएका शिक्षकहरुले कागजात बुझाएपछि बल्ल परीक्षामा सहभागी हुने कुल संख्या, कुन विषय र कुन तहमा कतिले परीक्षा दिँदैछन् भन्ने थाहा हुने थपलियाले जानकारी दिए । अनि बल्ल परीक्षाको मिति, परीक्षा केन्द्र तोक्न साथै, प्रश्नपत्र र उत्तरपुस्तिकालगायतको तयारी गर्न सहज हुने थपलियाले बताए ।सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दाबारे आयोग जानकार रहेपनि अदालतले परीक्षाको सम्पूर्ण तयारी रोक्नु नभनेसम्म या नवौं संशोधन ऐन खारेज गर्ने फैसला नगरेसम्म आयोगलाई परीक्षा लिन कुनै बाधा नपर्ने आयोगका प्रशासकीय प्रमुख थपलियाले जिकिर गरे । विद्यार्थी संगठनहरुको आन्दोलनले परीक्षाको मिति तय गर्न र परीक्षा सञ्चालन गर्न कुनै समस्या नरहेको समेत थपलियाले स्पष्ट पारे ।'सानातिना अवरोधहरुका कारण परीक्षा रोक्दै जानेहो भने परीक्षा कहिल्यै पनि गर्न सकिँदैन ।' थपलियाले भने ।अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न भनेर दुईपटक शिक्षा ऐन संशोधन भएपनि यस प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । परीक्षा दिन चाहने अस्थायी शिक्षकहरुले न परीक्षा दिएर स्थायी हुन पाएका छन् न त सुविधा लिएर विदा नै । उनीहरुलार्ई व्यवस्थापन गर्न भनेर पटक–पटक ऐन संशोधन भएपनि समस्या समाधानको साटो झनै थप्ने काम मात्रै भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्