मोदीलाई लुम्बिनी र जनकपूरमा सार्वजनिक सम्बोधन गर्न दिन सरकार तयार
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम  कार्तिक २९ , काठमाडौ । सार्क शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट जनकपुर र लुम्बिनीमा सार्वजनिक सम्बोधनका लागि गरिएको प्रस्तावप्रति व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिले गरेको आपत्तिलाई सरकारले अस्वीकार गरेको छ।

मोदीलाई सम्बोधन गर्नबाट कुनै पनि अवस्थामा रोक्ने मानसिकतामा सरकार नरहेको उच्च सरकारी स्रोतले सेन्चुरी टाईम्सलाई बतायो। राष्ट्रपति डा रामवरण यादवलगायतले आआफ्नो तहबाट मोदीलाई निरुत्साहित गर्ने प्रयत्न असफल भएपछि राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै सम्मेलनको औचित्य र गाम्भीर्यका सन्दर्भमा सकारात्मक सन्देश प्रवाह गर्न निर्देशन दिएको थियो। समितिले घुमाउरो रूपमा जनकपुर र लुम्बिनीका मञ्चबाट मोदीले गर्ने सम्बोधन अमर्यादित हुने भएकाले रोक्न निर्देशन दिएको थियो।

तर प्रधानमन्त्री सुशील कोइरालाले यस्तो निर्देशन स्वीकार गर्न नसकिने भन्दै विशिष्ट अतिथिका रूपमा मोदीलाई नेपालका धार्मिक स्थलहरूमा अभिनन्दन र सम्बोधनको व्यवस्था मिलाउन सरकारी निकायलाई निर्देशन दिएको उच्च स्रोतले बतायो।

समितिको निर्देशनको पृष्ठभूमि र सरकारका कामकारबाहीका अधारमा भारतीय राजदूत रन्जित रेले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग जानकारी माग्दै मोदीले जनकपुर र लुम्बिनीमा सम्बोधन गर्न नपाउने हो भने उनी दिल्लीबाट सीधै काठमाडौं आउने र अन्त कतै नजाने भनेर घुमाउरो पाराले धम्की दिएको स्रोतले बतायो।

जनकपुर र लुम्बिनीमा मोदीलाई अभिनन्दनमा गरिने र उनले धन्यवाद दिने क्रममा सम्बोधन गर्नु कुनै ठूलो कुरा नहुने एक कूटनीतिज्ञले बताए। उनले भने, पञ्चायतकालमा श्रीलंकाका तत्कालीन राष्ट्रपति जेआर जयवद्र्धनेको अभिनन्दन र उनको सार्वजनिक सम्बोधन खुलामञ्चमै भएको थियो ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले मित्रराष्ट्रका अतिथि मोदीलाई सम्बोधनको पूरा छुट भएको बताए। उनले भने, यस्तो कार्य अतिथि देवो भवस् को हाम्रो मान्यता र कूटनीतिक मर्यादाभित्रै पर्छ। नेपालले अतिथिलाई सम्मान गर्न कमी गर्नु हुँदैन। नागरिक अभिनन्दनको प्रत्युत्तर दिँदा मोदीले सम्बोधन गर्नु कुनै आश्चर्य नभएको भट्टराईले बताए।

संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले अहिलेको सन्दर्भ सार्क सम्मेलन भएकाले मोदीले सम्बोधन गर्दा अलिक अनुपयुक्त हुने बताए। यो समय सबैको ध्यान र गतिविधि सार्कमा हुनुपर्छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्