बामदेबले भने– संविधानमा अड्को थाप्ने बाबुराम को हुन् ?
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ३ /उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एमाओवादीले अड्को थापेर संविधान निर्माण हुन निदएको आरोप लगाएका छन् । लुम्बिनी क्षेत्रको सुरक्षाअवस्था बुझ्न बुधबार आएका गौतमले सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान निर्माणमा अवरोध गरेर एमाओवादीले आफूजस्तै कांग्रेस–एमालेलाई पनि असफल बनाउन उद्यत्त भएको बताएका हुन् ।
संवैधानिक समितिको बैठक स्थगित भएको अवस्थामा कसरी माघ ८ मा संविधान दिनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा गौतम झोँक्किएका थिए । ‘बाबुराम भट्टराई को हो ? कसले उनलाई त्यो हैसियत दियो ?’, गौतमले झोँक्दिै भने, ‘संविधानसभामा उनी पनि म जस्तै एक सभासद हुन । हाम्रो प्रस्ताव उनले संविधानसभामा पेश नगरेर संविधान रोकिँदैन ।’
संवैधानिक–राजनैतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले समितिको बैठक अनिश्चितकालका लागि स्थगित गुर्न गलत भएको गौतमको भनाइ थियो ।
संविधानसभाका बहुमत ४०४ सभासदले राखेको नौबुँदे संयुक्त अवधारणापत्र संविधानसभामा लगियोस भनी संवाद समितीका बहुमत सदस्यको हस्ताक्षर सभापति भट्टराईलाई सोमबार बुझाएपछि समितिको बैठक स्थगित भएको थियो ।
गौतमले अब माओवादीको पछि नलाग्ने बताउँदै बहुमतबाटै संविधान दिने बताए । ‘अब एमाओवादीको पछि लाग्दैनौं । उसले जतिसुकै अड्को थापोस् । प्रक्रियाबाट माघ ८ भित्र संविधान दिन्छौं’, एमालेका उपाध्यक्ष समेत रहेका गौतमले भने, ‘संविधान नदिएर पहिले आफू असफल भएजस्तै कांगे्रस र एमालेलाई पनि असफल बनाई समानान्तर सरकार बनाउने एमाओवादीको प्रयास असफल पार्छौं ।’
उपप्रधानमन्त्री गौतमले नेपाल–भारत सिमानाका बेलहिया, कपिलवस्तु मर्जादपुर भंसार नाकामा पुगेर सुरक्षा अवस्था बुझेका छन् । यसैगरी उनले प्राचीन एतिहासीक पुरातत्वीक बौद्ध स्मारक स्थल कुदान, तिलौकोट र कपिलवस्तु संग्रहालयको समेत निरीक्षण गरेका छन् ।
अन्तराष्ट्रिय सन्धिविपरीत भारतले सिमानजिकै बनाएको महली, सिसवा र मर्थीसागर बाँधका कारण नेपालतर्फको हजारौ विगाहा जमीन डुवानमा परेको गुनासो समेत उपप्रधानमन्त्रीलाई कार्यकर्ताले सुनाएका थिए ।

