रौतहट बैंक लुटपाटमा कर्मचारीकै मिलेमतो आईडी बैंकका कर्मचारी पक्राउ, पूर्व लडाकू पनि डकैतीमा संलग्न
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /रौतहटको चन्द्रपुर नगरपालिकास्थित इन्फास्ट्रकर डेभलपमेन्ट बैंक (आईडी)को रकम लुटपाटमा बैंककै कर्मचारीको मिलेमतो रहेको खुलेको छ ।
बैंक लुटपाटमा आईडी बैंकका रिसेप्सनिष्ट शम्भु थापाको पनि मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीले थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ ।
मंगलबार दिउँसो एसबीआई बैंकबाट रकम निकालेर बाहिरिदै गर्दा आईडी बैंकका सुरक्षा गार्डलाई गोली हानी चार जनाको समूहले २० लाख रुपैयाँ लुटेको थियो ।
लुटेको रकम फेला नपरे पनि एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको गोली लागेर घाइते भएका सिन्धुली पिपलमाडी १ का नारायण राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी माओवादी पूर्व लडाकू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट तेस्रो डिभिजन शक्तिखोरको अवकाश प्राप्त लडाकू परिचयपत्र फेला परेको हो ।
प्रहरीको गोली लागेर घाइते भएका राईको वीरगन्ज उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

