दुर्घटनामा अभिभावक गुमाएका सात जना बालबालिका बालग्रामको संरक्षणमा
Advertise Here Book Now



ऑनलाइन सिरहा डटकम ओम प्रकाश  राजविराज, १७ कात्तिक ।
करिब १० महिना अघि सडक दुर्घटनामा ज्यान गुमाएका सप्तरीको नकटी रायपुर गाविस वडा नं. ७ का राजकुमार यादव र निजकी श्रीमती शिलादेवी यादवकी सात जना सन्तानलाई एसओएस बालग्राम इटहरी सुनसरीले सम्पूर्ण लालन पालनको जिम्मा लिएको छ ।
सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बालग्रामका नायब राष्ट्रिय निर्देशक रमेश ताम्राकारले ५ वर्षिय कृष्ण कुमार यादव, १२ वर्षिया दुर्गा कुमारी यादव, १० वर्षिया दिपिका कुमारी यादव, ८ वर्षिया निर्मला कुमारी यादव, ७ वर्षिया पुष्पा कुमारी यादव, ३ वर्षिय बलराम यादव र एक वर्षिय काखे छोरा किशन कुमार यादवलाई संरक्षणका लागि जिम्मा लिनुभएको होे ।
पत्रकार सम्मेलनमा उहाँले आजदेखी नै ती सात जनै बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सम्पूर्ण अन्य जिम्मा आफ्नो संस्थाको जिम्मा भएको बताउनुभयो । त्यसैगरि निर्देशक ताम्राकारले सातै जना बालबालिका आफ्नो खुट्टामा सक्षम नभएसम्म संस्थाले नै उनीहरुको आर्थिक, सामाजिक भार लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यसअघि ती मध्ये तीन जना ७ बर्षीया निर्मला यादव, ६ बर्षीया पुष्पा यादव र ५ बर्षीय कृष्णा यादवलाई ललितपुरको थापा गाउँस्थित संग्रिला आर्फानेहोमले निःशुल्क पालन पोषणसहित पढाउने जिम्मा लिएको छ । त्यसपछि एसओएस बालग्रामले सातै जनालाई जिम्मा लिने भएपछि सोमबार जिल्ला बाल कल्याण समाजकी सचिव शुशिला चौधरी, पत्रकार महासंघ सप्तरीका सभापति प्रकाश खतिवडा, स्थानीय राजनीतिकर्मी दिनेश यादव तथा संचारकर्मीे रोहबरमा संस्थालाई हस्तान्तरण गरिएको हो ।
यसअघि सातजना टुहुरा बालबालिकाहरुलाई काठमाण्डौको धापासी ग्रिनल्याण्ड निवासी माया शेर्पा सहयोग स्वरुप नगद रु. ५० हजार, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सभासद् डा. बाबुराम पोखरेलले नगद रु. ३० हजार सहयोग प्रदान गर्नुभएको थियोे । यस्तै मृतक यादव दम्पतिलाई ठक्कर दिने मोटरसाईकल चालक बिराटनगर उपमहानगरपालिका ११ निवासी शंकर बस्नेतले मृतका सातजना सन्तानको लालनपालन र शिक्षाका लागि नगद रु. ३ लाख ५० हजार सहयोग प्रदान गरेको थियो भने रु. १० लाख क्षतिपूर्ति दिएका थिए ।
२०७० साल पुस २० गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ अन्तरगत रुपनीस्थित खाँडो खोलामा ना.२०प. ६५६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादवको मृत्यु भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्