गाउँगाउँमा जनताकै हातमा नागरिक बडापत्र पु¥याउने तयारी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ७ मङ्सिर । तपाइँले नागरिकता बनाउनका लागि कुन कुन कागजात चाहिन्छ, अथवा राहदानी लिन के गर्नुपर्छ भनेर चिन्ता गर्नुभएको छ वा मालपोतमा जग्गा पास गर्दा के गर्ने भन्ने समस्यामा हुनुहुन्छ भने अब त्यस बारेमा गाउँमै जानकारी लिन सक्नुहुनेछ ।
पर्वत जिल्लाका ३१ वटै सरकारी कार्यालयबाट प्रदान गरिने सेवा, प्रक्रिया र दस्तुर समावेश गरिएको नागरिक बडापत्र प्रकाशित गरी सर्वसाधारणलाई सेवा लिन जानकारी दिन थालिएको हो ।
गाउँबाट सरकारी काम लिएर आउने सर्वसाधारणले आफूले कुन कागजात पेस गर्ने र कसरी प्रक्रिया पूरा गर्ने भन्ने ज्ञानको अभाबमा धेरै दुःख पाउन थालेपछि एकीकृत नागरिक बडापत्र प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ । नागरिक बडापत्र गाउँगाउँ र सर्वसाधारण जनताको हातहातमा पु¥याउने तयारी भएको छ । अहिलेसम्म नागरिक बडापत्र सरकारी कार्यालयमा मात्रै राख्ने गरिएको थियो । नागरिकले त्यही बडापत्रसमेत अध्ययन नगर्दा प्रभावकारी बन्न सकेको थिएन ।
पर्वत जस्तो दुर्गम जिल्लामा गाउँगाउँबाट सर्वसाधारण कार्यालयमा पुगेपछि चाहिने कागजात, दस्तुर प्रक्रियाका बारेमा कुनै जानकारी नभई सदरमुकाम आउने र काम नभएपछि दुःख पाएर फर्कने गरेका छन् । धेरै दिनसम्म कागजात जुटाउनका लागि सदरमुकाममा ठूलो खर्च र हैरानी बेहोर्दै आएका छन । सबै सरकारी कार्यालयबाट प्रदान गरिने सेवाका बारेमा गाउँमै जानकारी लिएर आउँदा उनीहरुको समय, झण्झट र खर्च बचत हुने भएकाले एकीकृत नागरिक बडापत्रको प्रभावकारिता बढ्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले बताए ।
“गाउँबाट सदरमुकाम आउँदा कागजात र प्रक्रिया नपुग्दा सर्वसाधारणले दुःख पाएका छन्” प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भने “सदरमुकाम आएर प्रक्रिया तथा कागजात नपुगेर कसैले दुःख र हैरानी बेहोर्न नपरोस् भनेर एकीकृत रुपमा नागरिक बडापत्र पठाइने भएको हो ।”
घरमै सबै जानकारी पाएपछि आवश्यक तयारी गरेरमात्र नागरिक सेवा लिन आउने बिश्वास उहाँको छ । यसका लागि गाउँ विकास समिति, विद्यालय र वडा नागरिक मञ्चलगायतले सबैको पहुँच बडापत्रमा पुग्ने व्यवस्था मिलाउनुपर्ने प्रजिअ ज्ञवालीले बताए ।
नागरिक बडापत्रलाई हरेक गाउँ, टोल र सर्वसाधारणकहाँ पु¥याउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराईले जानकारी दिए । स्थानीय निकाय र वडा नागरिक मञ्चसम्म नागरिक बडापत्र पुगेपछि जनताले दुःख पाउने अवस्था नआउने विश्वास रहेको उनले बताए । एकीकृत बडापत्रमा भएको विवरण र कार्यालयमा टाँगिएको बडापत्रमा विवरण फरक परेमा तत्काल सच्याउन निर्देशन दिएको उनले बताए ।

