मध्यपूर्वको देशमा विश्वकप आयोजना तयारी सुरु भइसक्दा पनि धेरैले पत्याउन सकेनन्। धेरैले आशंकाका पहाड ठड्याइरहे, कामदारको मानवअधिकार हनन भइरहेको देशमा यत्रो महामेला सम्पन्न हुन सक्ला?
यद्यपि, अहिले परिस्थितिमा ठूलो बदलाव आइसकेको छ, अनविश्वास र आलोचना चिर्दै कतारले विश्वकप– २०२२ को स्वागत तयारीमा ठूलो फड्को मारिसकेको छ। लाग्छ, उसले विश्वलाई नै चक्मा दिँदैछ।
सिंगो कतारको एउटै अर्जुनदृष्टि छ– विश्वकपका लागि समयमै सबै पूर्वाधार कसरी तम्तयार पार्ने। तयारीमा कतारको तन्मय यस्तो छ, मानौं, उसलाई आफूबाट विश्वकप खोस्नेसम्मको प्रयास भइरहेको बारे केही जानकारी नै छैन।
विश्वव्यापी रूपमा कतारको चर्को गर्मी, विश्वकप आयोजना अधिकार पाउन करोडौं डलर घुस ख्वाएको, विदेशी कामदारमाथि दासको जस्तो व्यवहार गरेको जस्ता आरोपको छाया उसले विश्वकप तयारीमा कत्ति पर्न दिएको छैन।
युरोप र अमेरिकी महादेशहरूको पेवाझैं रहेको विश्व खेलकुदकै सबभन्दा आकर्षक यो खेलमेला दोस्रोपटक एसिया भित्रँदैछ। यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले मिलेर पहिलोपटक एसियामा विश्वकप आयोजना गरेका थिए। दोस्रोपटक एसिया प्रवेश गर्न लागेको विश्वकपस“गै आयोजक कतार आठ वर्षअघि नै विवादको घेरामा तानिएको हो।
विश्वकप आयोजनाको अधिकार पाउने क्रममै एसियाली फुटबल महासंघ (एएफसी) तथा कतार फुटबलका तत्कालीन प्रमुख मोहम्मद बिन हमामले करोडौं डलर घुस ख्वाएको आरोपको फिफाले छानबिन गरिरहेको छ। भ्रष्टाचारको बलमा कतार लगिएको विश्वकप आयोजना अधिकार कसलाई दिने भन्नेमा फेरि निर्वाचन गर्नुपर्ने माग पश्चिमा मुलुकले अझै चर्काइरहेका छन्। कतार विश्वकप तथा फिफा अध्यक्ष निर्वाचनका लागि विश्वभरका फुटबल अधिकारीहरूलाई घुस ख्वाएको आरोपमा फिफाले हमामलाई कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी आजीवन प्रतिबन्ध लगाइसकेको छ।
विश्वकप– २०१८ र २०२२ को विषयमा छानबिन गर्न फिफाले दिएको जिम्मेवारीअनुसार मिचेल गार्सियाले आफ्नो ४ सय पृष्ठ लामो प्रतिवेदन पनि फिफा इथिक्स कमिटीलाई बुझाइसकेका छन्। तर त्यसको समीक्षा पूरा नभएको भन्दै फिफाले सार्वजनिक गरेको छैन। कतारले फिफा अधिकारीलाई घुस ख्वाएर नै विश्वकप आयोजना अधिकार हासिल गरेको प्रमाणित भए प्रतियोगिता अन्यत्र सार्नुपर्नेसम्म माग उठिरहेका छन्।
कतारबाट विश्वकप खोस्न गरिने अर्को आलोचनाको विषय हो– हावापानी। विश्वकप जुन/जुलाईमा हुने परम्परा छ। त्यो समय कतारमा ४० डिग्रीभन्दा बढी तापक्रम हुने भएकाले पनि कतार विश्वकप आायोजनाका लागि उपयुक्त थलो नभएको दाबी गरिँदैछ। कतारमै विश्वकप हुने भए त्यसलाई हिउँदमा सार्नुपर्ने एकथरीको तर्क छ। तर, युरोपका सबैजसो ठूला क्लबले हिउँदमा विश्वकप गर्दा विश्वभरको फुटबल सिजन प्रभावित हुने भन्दै विरोध गरिरहेका छन्।
विश्वकपका लागि भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा कतारले विदेशी कामदारलाई दासजस्तो व्यवहार गरेको, कामदारको मानवअधिकार हनन गरेको भन्दै पश्चिमा सञ्चारमाध्यमले नियमितजसो समाचार प्रकाशन गरिरहेका छन्। ४ लाख हाराहारी जनसंख्या भएको कतारमा मजदुरी गर्नेहरू भारत, नेपाल, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, इन्डोनेसिया, सुडान, जोर्डनलगायत देशका छन्। विदेशी कामदारको खानपिन, स्वास्थ्य, सुरक्षा तथा पारिश्रमिकमा थिचोमिचो भएको बेलायती सञ्चारमाध्यमको आरोप छ।
कतार विश्वकप आयोजनाका लागि उपयुक्त स्थान नभएको तर्क गर्नेहरूले औंल्याइरहेको अर्काे कारण हो– कतारमा फुटबलको समृद्ध संस्कार छँदैछैन।
कतारले ती सब आरोपको व्यावहारिक रूपमा खण्डन गरिरहेको छ। भ्रष्टाचार आरोपमा फिफाको छानबिन चलिरहँदा कतार विश्वकपको मुख्य चुनौतीका रूपमा लिइएको गर्मीलाई प्रविधिमार्फत चिर्ने योजनामा तल्लीन छ। यसै वर्ष दोहामा ब्राजिल विश्वकपको समर्थक मेला आयोजना गरेर कतारले विश्वकप हुन नसक्ने भनाइलाई प्रविधिमार्फत झुठो साबित गरिसकेको छ।
२०२२ मा पनि विश्वकप हुने सबै रंगशालालाई वातानुकूलित पारिने भएको छ भने खुला ठाउँ चिस्याउन 'ओपन एयर कुलिङ टेक्नोलोजी' प्रयोग गरिने 'कतार विश्वकप सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी' का मुख्य इन्जिनियर जाराले बताइसकेका छन्। विश्वकप दौरान रंगशाला, रंगशालाबाहिर समर्थक भेला हुने ठाउँ तथा विश्वकपका लागि कतार पुग्ने खेलाडी, पदाधिकारी, समर्थक तथा पत्रकार पुग्न सक्ने सबै स्थानमा 'ओपन एयर कुलिङ' प्रविधिमार्फत वातावरण चिस्याइने योजना छ। रंगशालाको तापक्रम २४ देखि २८ डिग्री सेन्टिग्रेड राखिने तथा बाहिरको तापक्रम २२ डिग्री हाराहारी राखिने बताइएको छ।
'सबै रंगशाला वातानुकूलित हुनेछन्। साथमा रंगशालाबाहिर हुने फ्यान फेस्टका लागि पनि ओपन एयर कुलिङ प्रविधि अपनाइनेछ। यसको हामीले यसै वर्ष खुला स्थानमा हजारौं दर्शक उपस्थित गराएर सफल परीक्षण गरिसकेका छौं,' कतार विश्वकप हिउँदमा सार्नुपर्छ भन्नेलाई जाराको जवाफ थियो, 'रंगशालाबाहिर पनि दर्शकले २२ डिग्रीको तापक्रममा फुटबलको मजा लिने व्यवस्था मिलाइनेछ।'
अमेरिका र युरोपबाहिर यसअघि दुई पटकमात्र पुगेको विश्वकप मध्यपूर्वमा भित्रिँदा कतारले पूरा विश्वलाई नै आश्चर्यमा पार्दै सम्पन्न गर्ने नक्सा कोरिसकेको छ।
२०१० मा फिफामा आयोजक दाबी प्रस्तुत गरिरहँदा नै कतारले आन्तरिक तयारी सुरु गरिसकेको थियो। २०१८ सम्म सबै १२ रंगशाला र ६४ सुविधासम्पन्न अभ्यास मैदान निर्माण तथा परिमार्जनसाथै अन्य पूर्वाधार तयार गरिसक्ने लक्ष्यमा कतारले आधाजसो काम सकिसकेको बताइन्छ। कतारले विश्वकपका लागि २ सय अर्ब डलर खर्च गर्ने योजना बनाएको छ। मेट्रो रेलका लागि ३४ अर्ब, बन्दरगाह व्यवस्थापनमा ७ अर्ब र रंगशालाका लागि ४ अर्ब डलर खर्चिन लागेको उसले विमानस्थल सुधारका लागि १२ अर्ब खर्चिइसकेको छ।
पूर्वाधार निर्माणमा रंगशालासँगै यातायात र लाखौंका संख्यामा आउने विदेशी फुटबलकर्मी तथा पाहुनाको आवास व्यवस्था कतारको अर्को चुनौती हो। मेट्रो रेलको सुविधा नभएको कतारले २०१८ सम्म सम्पन्न गर्ने गरी जमिनमुनि रेलको प्रभावकारी सञ्जाल बनाउने काम थालिसकेको छ। विश्वकपकै लागि आउने पाहुनाका लागि साना–ठूला गरी ३ हजार होटल बनाउने काम पनि युद्धस्तरमा चलिरहेको कतार फुटबल संघ (क्युएफए) का पदाधिकारी बताउँछन्।
'कतार आफ्नो आर्थिक, सामाजिक, प्राविधिक र भौतिक पक्षलाई एकठाउँमा ल्याएर गन्तव्यतिर लम्किइरहेको छ,' क्युएफएले भनेको छ।
कतारको महŒवाकांक्षा विश्वकप आयोजना गर्नेमा मात्र सीमित छैन। २०२२ मा विश्वकपलाई भव्यतापूर्वक सम्पन्न गर्नुसँगै उनीहरूसँग २०३० को समयसीमा राखिएको अर्को सुन्दर सपना छ, कतारलाई विश्वकै सुन्दर सहर बनाउने र संसारकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने। 'कतार नेसनल भिजन– २०३०' नाम दिइएको यो सपनाअन्तर्गत नै उनीहरू विश्वकपलाई पनि भव्य रूपमा सम्पन्न गर्न चाहन्छन्।
त्यही लक्ष्यमा कतार सरकारले दोहामा नयाँ हमाद अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ। यो विमानस्थलले मात्र विश्वकपमा ५ करोड यात्रुलाई सेवा दिन सक्ने दाबी गरिएको छ।
फुटबलको संस्कार नै कमजोर भएको पश्चिमा आरोप चिर्न कतारले एसियाका साना देशलाई मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेर ठूलो संख्याका दर्शक देखाइरहेको छ। नेपालले पछिल्ला ६ महिनामा दुईपटक फिलिपिन्सको राष्ट्रिय टोलीसँग दोहामा मैत्रीपूर्ण खेल खेल्दा रंगशालामा खचाखच दर्शक तान्नुलाई त्यहाँको फुटबल संस्कारसँग जोडेर हेरिएको छ। कतारमा विश्व वरीयताका साना देश खेल्दा नै रंगशाला भरिनुलाई कतारीले विश्वकप हुँदाको माहोल विश्वका सबै ठाउँमा भन्दा भव्य र उल्लासपूर्ण हुने संकेत भनी विश्लेषण गरिरहेका छन्।
'विश्वकप– २०२२ पूरै एसियाको सान हो, यसलाई भव्यतापूर्वक सफल पारेर एसियाको गौरव बढाउने जिम्मेवारी कतारको काँधमा छ। हामी यसमा प्रतिबद्ध छौं,' जाराले भने, 'विश्वकपको यो अभियान सफल भए कतारमात्र नभई पूरा एसिया सफल हुनेछ। त्यसैले यसमा सिंगो एसियाको साथ पाउने आशा छ।'
एसियामा दोस्रोपटक आउने विश्वकपले पूरै महादेशको फुटबल विकासमा महŒवपूर्ण योगदान गर्ने विश्वास लिँदै उनले यसबाट अन्य एसियाली मुलुक प्रभावित हुन सक्ने विश्वास व्यक्त गरे। थोरै जनसंख्या भएकाले कतारले विश्वकपका लागि बनाउने ठूला रंगशाला विश्वकपपछि कमजोर देशलाई दिइने योजना छ। त्यसअन्तर्गत सबै रंगशालाका गरी कुल १ लाख ७० हजार सिटबराबरको पूर्वाधार खोलेर गरिब देशलाई दिने सुप्रिम काउन्सिलले जनाएको छ।
'कतारलाई विश्वकपपछि ठूला रंगशाला काम लाग्दैनन्। त्यसैले ती संरचना पछि आवश्यकता भएकालाई दिइने नै हो। प्रत्येकजसो रंगशालाबाट माथिल्लो भाग खोलेर कमजोर मित्रराष्ट्रलाई दिने योजना छ। त्यसका लागि सुरुमै पछि खोल्न मिल्ने पूर्वाधार बनाइँदैछ,' क्युएफएको वेबसाइटमा भनिएको छ।
कतारले फुटबल संस्कृतिसँगै मानवीय पक्ष, सामाजिक सद्भाव, आर्थिक समृद्धिलगायत क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्न विश्वकपलाई उपयोगी बनाउने दाबी गरेको छ। 'त्यसैले हामीले भौतिक पूर्वाधार निर्माण क्रममा प्रयोग हुने कामदारका सबैखाले सुविधामा ध्यान दिएका छौं। फिफाको प्रत्यक्ष सुपरिवेक्षणमा गरिने काममा कामदारले उचित पारिश्रमिक, खानपान पाए–नपाएको मूल्यांकन हुन्छ,' सुप्रिम कमिटीका महासचिव हसन अल थावाडीले भने, 'कामदारको मानवअधिकारलाई गम्भीरतापूर्वक लिइएको छ। कतार सरकारको श्रमकानुन पनि कामदारमैत्री छ। कामदारको स्वास्थ्य र सुरक्षामा कतार सरकार सबभन्दा बढी चनाखो छ।'
कतारमै निर्माणसम्बन्धी व्यवसाय गर्ने पिजन इन्जिनियरिङका प्रबन्धनिर्देशक आरके शर्मा पनि त्यसमा सहमत छन्। विश्वकपसँग सम्बन्धित मेट्रोलाइन निर्माण गराइरहेका शर्माले भने, 'विश्वकपसँग सम्बन्धित काम गर्दा ठेकेदारले फिफाको मापदण्डअनुसार कामदारलाई व्यवहार गर्नुपर्छ। कामदारको सुरक्षा र सुविधामा कुनै पनि सम्झौता नगर्न रोजगारदातालाई कडा निर्देशन दिइएको छ।'
सानो देश भएकाले कतारमा ५० किलोमिटर दायरामै खेल हुने सबै १२ रंगशाला तथा अभ्यास मैदान पर्ने भएकाले दर्शकलाई सहज हुने अपेक्षा गरिएको छ। एक घन्टाको दुरीभित्र सबै रंगशाला पुग्न सकिने भएकाले विश्वकपका लागि कतार पुग्ने दर्शकले एउटै होटलमा बसेर सबै खेलका लागि यात्रा गर्न सक्नेछन्।
विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार
Advertise Here Book Now

दोहा- विश्वकप–२०२२ को आयोजकका रूपमा फिफा कार्यसमितिले खाडी मुलुक कतारलाई चयन गर्दा यसको व्यापक आलोचनासँगै प्रश्न उठाइयो– भ्रष्टाचारको दलदलमा रहेको, अत्यधिक गर्मी र कमजोर फुटबल संस्कारयुक्त यो देशले कसरी फुटबलको महामेला गराउन सक्छ?
विश्वकप आयोजना तयारीमा नेपाली
कतारको कुल जनसंख्या २१ लाख हाराहारी छ। त्यसमा कतारी नागरिकको संख्या ४ लाख पनि छैन। बाँकी १७ लाखभन्दा बढी विदेशी कामदार र व्यवसायी कतारमा बसोबास गरिरहेका छन्।
कतारमा बस्ने विदेशीमध्ये नेपाली भारतीयपछि दोस्रो ठूलो समुदायका रूपमा चिनिन्छन्। ५० भन्दा बढी देशका कुल ४५ हजार कामदार प्रत्यक्ष रूपमा विश्वकपको तयारीमा लागिरहँदा नेपालीको संख्या सबभन्दा बढी छ। ठूलो संख्याका कामदार सामान्य मजदुर हुने भएकाले त्यहाँ नेपाली कामदार बढी भएको स्थानीय बताउँछन्।
'नेपालबाट यहाँ आउने कामदारमा अधिकांश 'ननस्किल म्यानपावर' हुन्छन्। विश्वकप तयारीका लागि पनि धेरै कामदार सामान्य मजदुर हुन्छन्। त्यसैले रंगशाला निर्माण क्षेत्रदेखि मेट्रोको लाइन खन्नेमा पनि नेपाली नै बढी छन्,' कतारमै मेट्रोलाइन निर्माणमा संलग्न कामदार होमबहादुर क्षत्रीले नागरिकसँग भने, 'आठ वर्षपछि यहाँ विश्वकप हुँदा यो रंगशाला र मेट्रोलाइन हामीले बनाएको भन्ने गर्व हुनेछ।'
विश्वकप तयारीका विभिन्न योजनामा कार्यरत नेपालीको यकिन संख्या नभए पनि त्यो १५ हजार हाराहारी रहेको क्षत्री बताउँछन्। उनका अनुसार विश्वकपका लागि रंगशाला वा मेट्रो बनाउने आयोजनाका कामदारले अन्यको तुलनामा बढी सुविधा पाउने गरेका छन्।
कतारमा बस्ने विदेशीमध्ये नेपाली भारतीयपछि दोस्रो ठूलो समुदायका रूपमा चिनिन्छन्। ५० भन्दा बढी देशका कुल ४५ हजार कामदार प्रत्यक्ष रूपमा विश्वकपको तयारीमा लागिरहँदा नेपालीको संख्या सबभन्दा बढी छ। ठूलो संख्याका कामदार सामान्य मजदुर हुने भएकाले त्यहाँ नेपाली कामदार बढी भएको स्थानीय बताउँछन्।
'नेपालबाट यहाँ आउने कामदारमा अधिकांश 'ननस्किल म्यानपावर' हुन्छन्। विश्वकप तयारीका लागि पनि धेरै कामदार सामान्य मजदुर हुन्छन्। त्यसैले रंगशाला निर्माण क्षेत्रदेखि मेट्रोको लाइन खन्नेमा पनि नेपाली नै बढी छन्,' कतारमै मेट्रोलाइन निर्माणमा संलग्न कामदार होमबहादुर क्षत्रीले नागरिकसँग भने, 'आठ वर्षपछि यहाँ विश्वकप हुँदा यो रंगशाला र मेट्रोलाइन हामीले बनाएको भन्ने गर्व हुनेछ।'
विश्वकप तयारीका विभिन्न योजनामा कार्यरत नेपालीको यकिन संख्या नभए पनि त्यो १५ हजार हाराहारी रहेको क्षत्री बताउँछन्। उनका अनुसार विश्वकपका लागि रंगशाला वा मेट्रो बनाउने आयोजनाका कामदारले अन्यको तुलनामा बढी सुविधा पाउने गरेका छन्।

