कला र संस्कृतिले आफ्नो बनाउँछ —उपराष्ट्रपति झा
Advertise Here Book Now
उपराष्ट्रपति परमानन्द झाले कला र संस्कृतिका माध्यमबाट मुलुकको पहिचान र समग्र विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
जिपी कोइराला फाउण्डेसनको आयोजना तथा ललितकला प्रज्ञाप्रतिष्ठान र चीनको इन्टरनेसनल इकोलजिकल सेफ्टी कोलाबरेसन अर्गनाइजेसन आइइएससिओ को सह–आयोजनामा आइतबार भएको अन्तर्राष्ट्रिय पर्यावरणीय कला प्रदर्शनीमा उपराष्ट्रपति झाले सो कुरा बताउनुभएको हो । उपराष्ट्रपति झाले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भए पनि कला र संस्कृतिको माध्यमबाट दुई देशबीचको सम्बन्ध नेपाली कलाकार अरनिकोले चीनमा निर्माण गरेको स्तूपदेखि सुरु भएको बताउनुभयो ।
कलाकै माध्यमले आज पुनः दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने प्रयासको सुरुवात भएकामा आयोजक जिपी कोइराला फाउण्डेसनको उहाँले प्रशंसासमेत गर्नु भएको छ । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले दुई देशको कला र संस्कृतिको तस्बिर प्रदर्शनीले सम्बन्ध विस्तारलाई अझ प्रगाढ बनाउने बताउँदै नेपालको शान्ति प्रक्रियामा स्व गिरिजाप्रसाद कोइरालाले गरेको योगदानको चर्चासमेत गर्नुभएको छ ।
फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले सांस्कृतिक रुपमा नेपाल र चीनबीचको सम्बन्ध परम्परागत रुपमा रहेको बताउँदै आर्थिक रुपमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपालका लागि चीनका राजदूत वु चुन्ताई, आइइएससिओका कार्यकारी अध्यक्ष प्रा डा जियाङ मिन्गुइन, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, चीनका कलाकार ज्याङ बोसिनले नेपाल–चीनबीचको सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

