सहमति नभए प्रक्रियामा जानुको विकल्प छैन : नेपाल
Advertise Here Book Now

Madhav Kumar Nepalराजनीतिक दलबीच संविधान निर्माण प्रक्रियामा सहमति हुन नसके प्रक्रियामा जानुपर्ने नेकपा एमालेका नेता माधवकुमार नेपालले बताउनुभएको छ ।
भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘नहोस् कतै दुर्घटना हामी सबैको चाहना’ विषयक कार्यक्रममा नेता नेपालले सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन आफूहरू तयार रहेको तर सहमति हुन नसके प्रक्रियामा जानुको विकल्प नभएको समेत बताउनुभएको हो ।
आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्न कुनै पनि कसर बाँकी नराखिने बताउनुहुँदै नेता नेपालले सामाजिक तथा जातीय सद्भावलाई बिथोल्ने खालको जातीय राज्यको पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्दछ । त्यसका लागि सबै राजनीतिक दल तयार छन् । तर सद्भाव बिथोल्ने काम कहीँकतैबाट पनि हुनुहुँदैन ।”
कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि गर्नुभएको रोल्पा भ्रमणप्रति सङ्केत गर्दै नेता नेपालले सहमति जुटाउन लाग्नुपर्नेमा पूर्व कमाण्डर बोकेर सुरुङभित्र बस्छु भन्दै हिँड्ने प्रवृत्तिले राजनीतिक गत्यावरोधको अन्त्य नहुने धारणा राख्नुभयो ।
सोही कार्यक्रममा एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रमुख राजनीतिक दलहरू विगतका सहमति र सम्झौतामा गम्भीर भएर संविधान निर्माणमा नलाग्ने हो मुलुक दुर्घटनाको निकट पुग्ने बताउनुभयो ।
उहाँले कमसेकम १२ बुँदे सहमतिदेखिका सहयात्रीका बीचमा न्यूनतम सहमति हुनुपर्ने र प्रक्रियामा जान पनि सबैको मतैक्य रहनुपर्नेमा जोड दिनुभयो ।
सहमतिमै संविधान निर्माण गर्ने वातावरण तयार पार्न आफ्नो पार्टीका तर्फबाट अधिकतम प्रयत्न जारी राखिएको उल्लेख गर्दै उहाँले नेपाली काँग्रेस र एमाले एक्लाएक्लै अगाडि बढ्न खोज्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको स्पष्ट पार्नुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्