चीनबाट आएको जहाज कसरी भयो कोइली ?
Advertise Here Book Now

काठमाडौं, कात्तिक १८–नेपाल वायु सेवा निगमले सोमबार चीनबाट नयाँ जहाज ल्यायो । यसअघि पनि यस्तै जहाज आएकाले यो खबर त्यति धेरै नौलो भएन । तर जहाजको नाम भने सबैलाई नौलो लाग्यो । निगमले चीनबाट आएको नयाँ जहाजको नाम कोइली राखेको छ ।
जहाजलाई किन कोइली भनिएको होला भन्ने धेरैलाई खुल्दुली लागेको छ । ‘पहिले जहाजको नाम राख्ने चलन थिएन, अहिले भने हामीले नाम दिने गरेका छौं, नाम दिने क्रममा अहिले आएको नयाँ जहाजलाई कोइली भनिएको हो’ निगमका उपनिर्देशक हरिहर शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार साना जहाज चराको नाममा, मझौला जहाज नदी र तालको नाममा तथा ठूला जहाज विश्व प्रसिद्ध ऐतिहासिक स्थलको नाममा चिनाउने निगमको नीति छ । ‘अहिले आएको जहाज सानो खालको भएकाले चराको नाम खोज्दै जाँदा नेपालमा पाइने प्रसिद्ध चरामा कोइली पनि पर्ने भएकाले यो नाम रोजिएको हो’ शर्माले भन्नुभयो ।

पुराना गौंथली, जुरेली, मलेवा र मुनाल

निगमसँग यसअघि भएका जहाजको पनि आफ्नै नाम छ । गौंथली र जुरेली नाम गरेका ट्वीनअटर जहाज अहिले नियमित उडानमा छन् । मलेवा नाम गरेको जहाज चाहिँ बिग्रिएर ग्राउन्डेड भएको छ । यस्तै निगमले मुनाल नाम गरेको जहाज तारा एयरलाई लिजमा दिएको छ ।

अबको नयाँ डाँफे, मैना र चखेवा

चीनबाटै थप तीनवटा साना र अर्को एउटा मझौला जहाज आउँदैछ । केही महिनाभित्र आउने जहाजको नाम अहिले नै तय भैसकेको छ । निगमका अनुसार यसरी आउने तीनवटा साना जहाजको नाम डाँफे, मैना र चखेवा राखिनेछ ।

रारा र रुपा

निगमसँग अहिले एउटा मात्र मझौला जहाज छ । त्यो पनि केही महिनाअघि चीनबाट नै ल्याइएको हो । यो जहाजको नाम रारा राखिएको छ । केही महिनापछि अर्को एउटा मझौला जहाज फेरि चीनबाटै आउँछ । त्यसलाई रुपा नाम दिइने निगमले जनाएको छ । मझौला जहाजलाई नदी र तालको आधारमा नाम दिने निगमको नीति छ ।

ठूला कर्णाली र गण्डकीपछि लुम्बिनी र सगरमाथा

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा ठूला बोइङ जहाज छन् । एउटाको नाम कर्णाली र अर्कोको नाम गण्डकी राखिएको छ । केही महिनामा आउने दुईवटा यस्तै जहाजलाई लुम्बिनी र सगरमाथा नाम दिने तय भैसकेको छ । निगमका अनुसार नयाँ एयरबसमध्ये एउटा फागुनमा र अर्को बैशाखमा आउनेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्