विरोधले संविधान रोकिँदैन’
Advertise Here Book Now
ललितपुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा (माओवादी) को धम्की र विरोधले संविधान निर्माणको काम नरोकिने बताएका छन् । एमाओवादी लगायतका दलले विरोध गरेपनि तोकिएको समय माघ ८ मा देशले नयाँ संविधान प्राप्त गर्ने उनले दाबी गरेका छन् ।
पूर्व सांसद मञ्चले मङ्गलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले संविधान जारी गर्नका लागि दुई तिहाइ भए पुग्ने हुादा संविधानसभामा आफूहरुसँग त्यो मत सुरक्षित रहेको बताए । उनले एमाओवादी सहमतिका लागि तयार नभएपछि काङ्ग्रेस र एमालेले प्रदेशको सङ्ख्या, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा साझा अवधारणा बनाएको बताउँदै एमाओवादीले आन्दोलन गर्छु भनेर धम्की दिएको भरमा आफूहरु नतर्सिने बताए ।
एमाओवादीले भनेजस्तो संविधान निर्माणमा सबै दलसँग सहमति गर्न नसकिने उनको भनाइ थियो । उनले सबै दलसँग सहमति गर्ने हो भने संविधानसभा नै आवश्यक नपर्ने भन्दै एमाओवादीले जतिसुकै विरोध गरेपनि संविधानसभाबाट संविधान जारी गरेरै छोड्ने बताए । उनले नयाँ संविधान जारी गरेर मुलुकलाई स्थायी शान्तिको बाटोमा लैजाने भन्दै अब विगतमा जस्तो कसैलाई पनि हिंसा गर्न छुट नदिने बताए ।
उनले शान्ति विरोधीहरुलाई एकएक गरेर तह लगाउने भन्दै हिंसात्मक आन्दोलन गर्ने सपना नदेख्न एमाओवादीलाई चेतावनी समेत दिए । एमाले अध्यक्ष ओलीले एमाओवादीले संविधान बन्न नदिनका लागि विभिन्न जातजातिलाई भड्काएको आरोप समेत लगाए । उनले काङ्ग्रेससँग भएको सहमती अनुसार सामथ्र्य र पहिचानका आधारमा सातवटा प्रदेश बनाउने र अहिलेजस्तै संसदबाट प्रधानमन्त्री चुन्ने शासन व्यवस्था अपनाउने बताए ।
(ब्लाष्ट)

