थप ६१ नगरपालिका र सात उपमहानगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविसरहित
Advertise Here Book Now
एक वर्षअघि ५८ नगरपालिका रहेको मुलुकमा थप ७२ नगरपालिका थपेको थियो।
समितिको बैठकले ६१ वटा नगरपालिकासँगै ७ वटा उपमहानगरपालिका विस्तार गर्ने निर्णय गरेको छ। हेटौडा, जनकपुर, इटहरी, बुटबल, भरतपुर, नेपालगञ्ज र धरान गरी सात नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ ।
समितिले सिफारिस गरेपनि बाराको कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाईएको छैन।
यस्तै लतिलपुरको बज्रबाराहीसहित तनहुँको भिमाद र भानु, वर्दियाको बबई र स्याङजाको गल्याङलाई नगरपालिका घोषणा गरिएको छैन । यी ठाउँका बारेमा थप अध्ययन गरेर निर्णय गरिने स्थानीय विकास मन्त्रालयले जनाएको छ।
समितिले काठमाडौंमा नौ, ललितपुर र भक्तपुरमा चारचार गरी १७ नयाँ नगरपालिका घोषणाका लागि सिफारिस गरेकोमा उपत्यकामा १६ वटा नगरपालिका थपिएका छन् ।
काठमाडौंमा जोरपाटी केन्द्र हुने गरी गोकर्णेश्वर, फर्पिङ केन्द्र हुनेगरी दक्षिणकाली, धर्मस्थली केन्द्र हुने गरी तारकेश्वर, पुखलाछी केन्द्र हुनेगरी शंकरापुर, बलम्बु केन्द्र हुने गरी चन्द्रागिरी, डाँछी केन्द्र हुनेगरी कागेश्वरी मनोहरा, ग्रिनल्यान्ड केन्द्र हुने गरी टोखा, सीतापाइला केन्द्र हुने गरी नागार्जुन र महांकाल केन्द्र हुने गरी बूढानीलकण्ठ नगरपालिका बनाइएको छ।
ललितपुरमा छ्यासीकोट केन्द्र हुने गरी कार्यविनायक, टौखेल केन्द्र हुने गरी गोदावरी, इमाडोल केन्द्र हुनेगरी महालक्ष्मी नगरपालिका घोषणा गरिएको छ ।
यसैगरी भक्तपुरमा गाम्चा केन्द्र हुने गरी अनन्तलिंगेश्वर, सिपाडोल केन्द्र हुने गरी सूर्यविनायक, चाँगुनारायणटार केन्द्र हुनेगरी चाँगुनारायण र नगरकोट केन्द्र हुने गरी महामञ्जुश्री नगरकोट नगरपालिका घोषणा गर्न सिफारिस गरिएको छ।
उपप्रधान तथा स्थानीय विकास मन्त्रीका प्रेस सल्लाहकार युपी लामिछानेका अनुसार यो सँगै काठमाडौं र भक्तपुर गाविसरहित जिल्ला बनेका छन्।

