मधेश स्वतन्त्र भयो भने विश्वको १ सय ५० वटा देश भन्दा ठूलो देश हुन्छ : डा. सिके राउत
Advertise Here Book Now

मधेश स्वतन्त्र गठबन्धनका संयोजक डा. सिके राउत स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. चन्द्रकान्त राउतले मधेशमा क्याम्प खडा गरी कब्जा जमाएर बसेका नेपाली सेनालाई जति सक्दो चाँडो तराईबाट हटाउन नेपाल सरकारसँग माँग गरेका छन् ।
मधेश स्वतन्त्रताको लागि मेची–महाकाली अभियानमा सकृय रहेका राउतले   यस्तो कुरा बताएको हो । मधेशमा अहिले पनि ९५ प्रतिशत भन्दा बढी औपनिवेशिक सेनाले कब्जा जमाएर क्याम्प खडा गरी बसिरहेको हुँदा मधेशीलाई दिने अधिकार जतिबेला पनि सेना लगाएर सरकारले ५ मिनेटमा नै खोस्न सक्ने भएकोले सेना हटाउनुको विकल्प नभएको राउतले बताए ।
मधेशी समुदायले आफ्नो निर्णय आफैले गर्न पाउनुपर्ने बताउँदै युवा वैज्ञानिक समेत रहेको राउतले मधेश स्वतन्त्र नहुन्जेलसम्म मधेशी समुदायलाई दिने अधिकारको कुनै ग्यारेन्टी नहुने बताए । शासकवर्गले मधेशमाथि औपनिवेशिक शासन लादिएको भन्दै डा. राउतले राष्ट्रपति, उप–राष्ट्रपति र प्रधानमन्त्री नै मधेशीलाई दिए पनि त्यसको औचित्य नभएको स्पष्ट पारे । उनले भने, ‘उपप्रधानमन्त्री, गृह, रक्षा, परराष्ट्र, शिक्षा, स्वास्थ्य लगायतका महत्वपूर्ण मन्त्रालय मधेशीले नपाएको होइन तर उपलब्धी के भयो ? मधेशी जनताले के पायो ?’
राणाकाल देखि नै मधेशी समुदायको आवाज दवाएको चर्चा गर्र्दै राउतले शासकवर्गले मधेशी समुदायको हातखुट्टा बाँधेर कचौरामा दुधभात खान दिनुको अर्थ नहुने बताए । उनले भने, ‘गजेन्द्रबाबुलाई तीस वर्ष सम्म नागरिकताको लागि संघर्ष गर्नुप¥यो । तैपनि नागरिकताको समस्या समाधान भएन । आज पनि नागरिकताको समस्या जिउका त्यूँ छ । मधेशी समुदायको नाम भनेर भोटरलिष्टबाट धमाधम हटाउँदै छ ।’
सन् १९५१ मा तराईमा पछाडी समुदायको जनसंख्या ६ प्रतिशत मात्र रहेको सन् २००१ मा वृद्धि भई ३३ प्रतिशत पुग्नु मधेशको लागि खतराको संकेत भएको बताउँदै राउतले मुलुकको कुल राजस्वको ७६ प्रतिशत तराईबाट उठाएर पहाडमा लगाई भईरहेको हुँदा तत्काल रोक्नु पर्ने बताए । २०१५ साल सम्म मधेशी समुदायलाई काठमाण्डौं जानुपर्दा भिस्सा लिनुपर्ने व्यवस्थालाई औपनिवेशिकको संज्ञा दिदै राउतले मधेश स्वतन्त्रता नै एक मात्र सहि समाधान भएको बताए ।
स्मरणरहोस् नेपालमा अहिलेसम्म अंगीकृत नागरिकता लिनेको संख्या ८ हजार ३ सय जना मध्ये विभिन्न कारण देखाएर ३ सय ५ जनाको नागरिकता खोसिएको गृह मंत्रालय नागरिकता शाखाले जनाएको छ भने एक सय ८१ जनाले अंगीकृत नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन गरेका छन् ।
मधेश विद्रोह पछि मधेशवादी दलहरुले राज्यसँग गरेको सहमति र सम्झौताहरु कहाँ र कुन अवस्था रहेको छ सबैको सामु छर्लङ्ग रहेको भन्दै राउतले पहाडबाट सिडियो र एसपी ल्याएर हामी माथि दमन भईरहेको आरोप लगाए ।

संघीयतामा पनि वनजंगल, जलश्रोत, नागरिकता, विदेश निति, मुद्रानिति केन्द्र सरकारकै मातहतमा रहने भएकोले संघीयताले मधेशको भलो नगर्ने राउतको दावी छ । तथापी आफु संघीयता विरोधी नभएको उनले बताए । एक प्रश्नको जवाफमा राउतले संविधान र संघीयता आओस् भनेमेरो पनि चाहना छ, जनताले महसुस गर्ने कुरा हो, मेरो त मार्ग नै फरक छ, राउतको भनाई छ ।
सन् १९९० पछि विश्वमा ३५ वटा देश स्वतन्त्र भएको इतिहास रहेको चर्चा गर्दै राउतले भने, –‘मधेश किन स्वतन्त्र हुँदैन, मधेश स्वतन्त्र भयो भने जनसंख्याको आधारमा विश्वको १ सय ५० वटा देश भन्दा ठूलो देश हुन्छ, सय वटा विकसित मुलुक तराई हुनेछ ।’
वैज्ञानिक डा. सिके राउतपौष १९ गते विराटनगरमा जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा प्रहरीसँगको झडपमा बायाँ खुट्टामा गम्भिर चोट लागेपछि गृह जिल्ला सप्तरी स्थित आफ्नै निवासमा अनलाइनका सम्पादक वैद्यनाथ यादव सित कुरा गर्दै डा. राउतले मेरो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण रुपमा भईरहँदा राज्यपक्षले दमन गर्न खोजेको आरोप लगाए । उनले भने, ‘प्रहरीले मधेशी भएकै कारण मेरो खुट्टा भाँचेको छ, प्रचण्डलाई म जस्तो खुट्टा भाँचेर हेरोस् त यो देशको सुरक्षकर्मीले ?’
सशस्त्र सघर्षरत समुहहरु सित कुनै सहकार्य र एकता नहुने संकेत गर्र्दै राउतले सशस्त्र द्वन्द्वले मधेशलाई आजाद हुनबाट रोकेको र मधेशको अस्तित्व नै खतरामा पर्न सक्ने तर्फ सचेत र सजग रहन सम्बन्धित पक्षलाई आग्रह समेत गर्नुभयो ।
विश्वको धेरैजसो देश जनमत समग्रबाट स्वतन्त्र भएको चर्चा गर्दै राउतले भने, ‘मधेशी जनता के चाहन्छन् ? म नागरिक सर्वोच्चताको सम्मान गर्न तयार छु । मधेश नेपालबाट अलग हुन जाहन्छ कि चाहदैन भने विषयमा जनमत संग्रह गरोस्, जनताको निर्णय स्वीकार्न म तयार छु ।’
तपाईलाई अमेरिकाको जासुसी संस्था सिआईएको एजेन्ट भन्छ नि भने प्रश्वनको जवाफमा राउतले भने, ‘मेरो सरोकारको विषय मधेशी समुदायले के चाहन्छ त्यो हो, मधेशी समुदाय दास बनिरहेमा औपनिवेशिक शासन कायम रहेसम्म मेरो अभियान जारी रहन्छ । अमेरिका, चीन र भारतले के भन्छ ? के चाहन्छ ? मेरो सरोकारको विषय भएन, प्रमाण विना कसैमाथि कुनै आरोप लगाउन पाउँदैन ।’
राउतले भने, ‘मेरो लागि आमा भनेको मधेश हो । नेपालले त मेरो शोषण नै गरेको छ, एक भाषा र एक भेष लादने काम गरेको छ, मधेशी समुदायका लागि जनचेतना फैलाउदै अगाडी बढिरहँदा सरकारले मलाई गिरफ्तार गरेर वाक स्वतन्त्रता माथि नै प्रतिबन्ध लगाउने काम गरिरहँदा कुन अधिकारकर्मीले बोलेको छ ?’
नेपालका मानव अधिकारवादी संघ संस्थाहरु मधेश र मधेशी विरोधी भएको आरोप लगाउँदै राउतले श्वास रहुँन्जेलसम्म स्वतन्त्र मधेशकै लागि शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन अगाडी बढाउँदै लैजाने र मधेशलाई चाहिने इन्फास्ट्रक्चर, थिंक ट्यांक र मिडिया हाउसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैज्ञानिक डा. सिके राउतसप्तरीको बभनगमाकट्टी स्थित श्री लक्ष्मी बल्भ नरसिंह माध्यमिक (हाल बहुमुखी क्याम्पस) विद्यालयबाट एसएलसी उत्तिर्ण गरी काठमाण्डौंको पुल चौक इन्जिरिङ्ग क्याम्पसबाट विद्यावारिधी गरेका राउतले जापानको टोकियो विश्व विद्यालय, बेलायतको क्याम्ब्रिज र अमेरिकाको हावर्ड विश्व विद्यालयबाट समेत उच्च शिक्षा हासिल गरी सन् २०११ सम्म अमेरिकामा वैज्ञानिकको रुपमा कार्यरत थिए । उच्च शिक्षा हासिल गर्नको लागि काठमाण्डौ पुगेका राउतको मानसपटलमा रंगभेद र भेदभाव विरुद्धको लागि संघर्ष गर्नुपर्ने अठोट गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्