नयाँ विमान कोइली पनि रनवेमै धसियो
Advertise Here Book Now

9N-AKS-nepal-airlinesपुष्करलाल श्रेष्ठ/काठमाडौं :- टर्किस एयरलाइन्सको विमान दुर्घटना भई त्रिभुवन विमानस्थलको रनवेमा अड्केर हजारौं स्वदेशी तथा विदेशी यात्रुको बिचल्ली भइरहेका बेलामा तालिममा रहेको नेपाल वायुसेवा निगमको ९एन एकेएसको चिनियाँ विमान अवतरण गर्ने क्रममा विमानको देब्रेतिरको टायर फुटेर सोही रनवेमा शुक्रबार धसिँदा निकैबेर तनाव सिर्जना भयो।
निगमका केही विमान चालकहरूलाई तालिम दिइरहेको उक्त विमान हिजो अपरान्न ३ बजेर १५ मिनेट जाँदा दुर्घटनामा परेको थियो। सो दुर्घटनामा टर्किस विमानको जस्तै कुनै मानवीय क्षति भने भएन। चीनमा निर्मित नेपाल आउनुअघिदेखि नै प्राविधिक खराबी रहेको भनी विवादमा रहेको उक्त एनएसीवाई १२ विमानलाई नेपाल भित्रिएपछि कोइली नाम दिइएको थियो।
यो विमान पनि रनवेमा फसेपछि शुक्रबारका आन्तरिक उडानहरूसमेत दुई घण्टा अवरुद्ध भएका थिए। नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माले नेपाल समाचारपत्रसँगको कुराकानीमा सो विमान धसिएको स्वीकार गर्दै देब्रे भागको टायर पन्चर भएर यस्तो घटना भएको जनाउनुभयो।
यो विमानलाई फ्रेन्डली आइल्यान्ड समेत भनिने मुलुक टोंगाबाट आएका पेनिटा माइभानामका इन्स्ट्रक्टर पाइलटले नेपालका क्याप्टेन नृपेन्द्र भट्टराई र आन शेर्पालाई तालिम दिइरहेका थिए। सो विमानमा अब्जर्भरका रूपमा एन वज्राचार्य उडिरहेका थिए। क्याप्टेन नृपेन्द्रले यसअघि सोही विमान कम्पनीको याक्ट्री हर्विनमा तालिम लिएर आएका थिए। सौभाग्यले उक्त विमानको टायर निगमसँग जगेडामा रहेकाले तुरुन्तै बिग्रेको टायर फेरेर जडान गर्न सकिएको थियो। जसले गर्दा रनवेमा फसेको उक्त विमानलाई दुई घण्टाभित्र निकाल्न सफलता मिलेको थियो।
गत कात्तिक १७ गते चीनबाट ल्याइएको १८ सिट क्षमताको वाई १२ विमानले आन्तरिक उडान भरिरहे पनि बेलाबेलामा आइरहने प्राविधिक समस्याहरूले गर्दा यो विमान निगमलाई टाउको दुखाइ बनिरहेको छ। यो विमान कामको छैन भनी नेपाल समाचारपत्रले विमान नेपाल आउनुभन्दा महिनौंअघिदेखि नेपाल सरकार र निगमलाई सतर्क गराउँदै आए तापनि बेवास्ता गरेका कारण अहिले निगमले चिनियाँ विमानबाट प्राविधिकरूपमा मात्र नभई आर्थिक रूपमा समेत करोडौं घाटा व्यहोरिसकेको छ।
स्रोत: नेपाल समाचार पत्र दैनिक

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्