अब मलाई “नेपाली” नभन !
Advertise Here Book Now

अब मलाई “नेपाली” नभन !

यहाँ नेपाली हुन गोर्खा साम्राज्यको नागरिक हुनु आवश्यक छैन,

यी उपनिवेशकहरूको जातिचाहिँ हुनुपर्दछ ।

करीब ३० वर्षअघिको कुरो हो । नेपाल कम्युनिस्ट पार्टीमा बारा जिल्ला समितिमा काम गर्दै थिएँ । नेपाली कांग्रेसले २०४२ सालमा पञ्चायतविरोधी सत्याग्रह सुरू गरेको थियो । रौतहटको संतपुरमा क. ओमराज कोइरालाको घरमा एउटा संक्षिप्त बैठक थियो । केन्द्रबाट क. तिलक पराजुली आउनुभएको थियो । बैठक सुरू हुनुअघि केही अनौपचारिक कुराकानी चल्दैथियो ।
तिनताक विद्यार्थी आन्दोलन र पढाइको सिलसिलामा धेरैजसो म वीरगंज बस्ने गर्दथे । पहाडबाट झरेर वीरगंजमा बस्ने मित्रहरूले आफूलाई ‘नेपाली’ र हामीलाई ‘मदिसे’ भन्ने गर्नुहुन्थ्यो । मैले यिनै शब्दावलीको प्रयोग संतपुरको त्यस जमघटमा पनि गरें । त्यसमाथि क. तिलकले शिष्ट भाषामा तिखो आलोचना गर्नुभयो । उहाँको प्रस्ट अडान थियो, “यदि कसैले तपाईंलाई ‘मदिसे’ भन्छ भने उनलाई तपाईंले ‘पहाडिया’ वा ‘पहाडे’ भन्नुपर्छ, ‘नेपाली’ होइन । ‘नेपाली’ त नेपालमा जहाँसुकै बस्ने नेपालको गौरवशाली नागरिकको समष्टि परिचय हो ।”
अब भन्नुस्, जब मेरो अनुहार, मेरो पोसाक, मेरो भाषा, मैले बोल्ने तरिका, मेरो धरती, मेरो जीवनशैली यी गोर्खाली शासकहरूसँग कहीँ पनि मिल्दैनन् भने यिनीहरूले स्थापित गरेको पहिचान कथित ‘नेपाली’भित्र म पर्छु कसरी ?
त्यसको लागि म आत्मालोचित हुँदै जीवनमा हजारौं पटक ‘नेपाली’ भनाउनको लागि प्रतिवाद गरेको हुँला । तर अहिले प्रस्ट भएको छ, म ‘नेपाली’ होइन ।
ममात्रै होइन, यो गोर्खा साम्राज्यमा कोही पनि नेपाली छैन । किनभने “नेपाल” गोर्खा साम्राज्यले ओगटेको एउटा भूभागमात्रै हो । त्यहाँको भाषा नेपाल भाषा तथा जनता नेवार हुन्‌ । ‘नेपाली’ त गोर्खाली घरेलु साम्राज्यवादीहरूले संसारलाई ठग्नको लागि धारण गरेको सबैभन्दा पछिल्लो उपनिवेशवादी परिचयमात्र हो । यो परिचयले पनि अझ एक शताब्दी काटेको छैन । त्यसैले यसले बाँकी परिचयहरूलाई मटियामेट पनि गर्न सकेको छैन र अब सक्तैन पनि ।
१९९० सालमा यी उपनिवेशकहरूले आफ्नो भाषालाई ‘नेपाली’ भने । त्यसभन्दा अघि ‘गोर्खा’ भनेका थिए । अझ अघि त्यसलाई ‘खसकुरा’ वा ‘पर्वतेकुरा’ भन्थे । अलि अगाडि जाने हो भने यिनीहरू राजस्थानी, कुमाउनी र गढवाली थिए । पछि खस, अनि गोर्खाली हुँदै नेपाल खाल्डो हत्याएपछि ‘नेपाली’ भई टोपलेका छन् ।
भ्रममा नपरौं, यो विशेषण यिनीहरूले कुनै समग्रता जनाउने अभिप्रायले ल्याएका पनि होइनन् । इ-समताकै बहसमा यसअघि युग पाठक स्वयंले यसको पर्दाफास गरिसकेका छन् । साथै यो विशेषण गोर्खा साम्राज्य ‘नेपाल’को कुनै विद्वान वा शासकको बुद्धिको उपज पनि होइन । यो दार्जिलिङका नितान्त गैरनेपालीहरूको छट्टु बुद्धिको उपज हो । तर अपराधीले जहिले पनि अपराधको सबूत छोड्ने गर्दछन् । यी साम्राज्यवादी उपनिवेशकहरूले पनि छाडेका छन् ।
विदेशमा नेपाली भनेर अहिले पनि चिन्दैनन्, गोर्खा पल्टन वा माउन्ट एभरेस्ट भन्नुपर्छ । देशको सबैभन्दा पुरानो अखबार आज पनि गोरखापत्र नै छ । केही दशक पहिलेसम्म यस राज्यलाई गोरखा राज्य नै भन्ने आधिकारिक दस्तावेजहरू अझै पनि सुरक्षित छन् । तसर्थ यो पहिचान येनकेन पहाडका बासिन्दासम्मलाई समेटे पनि मधेशीहरूलाई आजको दिनसम्म समेटेको छैन । नत्र मधेशमा ‘नेपाली टोल’हरू बसाइने थिएनन् ।
टपरटुइयाँ बुद्धिजीवीहरू ‘तपाईं पहिला नेपाली कि मधेशी ?’ सोध्छन् । सर्वसाधारण ‘नेपाली’हरू ‘तपाईंको घर त इण्डियामै हो ?’ सोध्ने गर्दछन् । कम्तीमा सय पटकसम्म मैंलाई यस्ता प्रश्न तेर्सिएका छन् ।
मधेशीलाई आजसम्म केही टपरटुइयाँ बुद्धिजीवीहरू ‘तपाईं पहिला नेपाली कि मधेशी ?’ सोध्छन् । सर्वसाधारण ‘नेपाली’हरू ‘तपाईंको घर त इण्डियामै हो ? इण्डियामा कहाँ ?’ भनी सोध्ने गर्दछन् । किनभने कम्तीमा पनि सय पटकसम्म म स्वयंलाई यस्ता प्रश्न तेर्सिएका छन् ।
अनि मैले आफ्नो अन्धराष्ट्रभक्तिमा पुनर्विचार गरें । मेरो भाषा ‘नेपाली’ होइन । मेरो अनुहार ‘नेपाली’ होइन । किनभने त्यस्ता प्रश्न तेर्स्याउनेहरूले भन्ने गर्छन्, ‘तपाईंलाई झट्ट हेर्दा त्यसै लाग्छ ।’ मेरो पोसाक पनि ‘नेपाली’ होइन । मेरो भूमि पनि ‘नेपाल’ होइन । किनभने नेपालभित्रै हाम्रै भूमिमा ‘नेपाली टोल’हरू छन् ।
त्यति हुँदाहुँदै पनि ‘नेपाली’ बन्ने मेरो कोसिस नाकाम पनि भएका छन् । स्नातकसम्म ‘नेपाली’ पढेको छु । तर मेरो ‘नेपाली’ गन्हाउँछ । ‘नेपाली’ पोसाक ‘दौरा-सुरुवाल’ पनि बेला-बखत लगाएको छु । तर मैले लगाउँदा ‘मधेशी तालले लगाएको’ भनिन्छ । ‘नेपाली’ तालले कसरी लगाइन्छ, थाहा छैन । अब भन्नुस्, जब मेरो अनुहार, मेरो पोसाक, मेरो भाषा, मैले बोल्ने तरिका, मेरो धरती, मेरो जीवनशैली यी गोर्खाली शासकहरूसँग कहीँ पनि मिल्दैनन् भने यिनीहरूले स्थापित गरेको पहिचान कथित ‘नेपाली’भित्र म पर्छु कसरी ? यदि पर्दिनँ भने नारद-मोहमा कतिञ्जेल बाँचौँ ?
अर्को कुरा यहाँ लैनसिंह बाङ्ग्देल, गोपाल योञ्जन, अम्बर गुरुङ, शैलेन्द्र उपाध्याय, कृष्ण प्रसाद भट्टराई, माधव नेपाल, पारिजात र हुँदाहुँदै प्रशान्त तामाङहरू यदि ‘नेपाली’ छन् भने त्यस्तो वर्णसङ्कर ‘नेपाली’ म हुन पनि चाहन्नँ । यसले के देखाउँछ भने यहाँ नेपाली हुन यो गोर्खा साम्राज्यको नागरिक हुनु आवश्यक छैन, यी उपनिवेशकहरूको जातिचाहिँ हुनुपर्दछ । भूटानमा टेकप्रसाद रिजालमाथिको ज्यादती यिनीहरूलाई दुख्छ । तर झुनुवा थारूमाथि यिनीहरूले थोपरेको त्यस्तो ज्यादतीको उच्चारणसम्म पनि गर्दैनन् । हो, दयाको भिक्षाको रूपमा परिवर्तित नयाँ वर्गमा रूपान्तरित आफ्नो ‘नेपाली’ महाप्रभूको शरण पर्नेहरूले झुनुवाहरूलाई लोभ्याउन काव्य विम्बको प्रयोग गरेको भने देखिन्छ ।
तर झुनुवा थारू अब तिम्रो त्यस दयाको भोको छैन । उसको श्रमलुटेरा सुनको औंठी लाउने तिम्रा प्रभूहरूको साम्राज्य उखेल्न उसले कम्मर कसिसकेको छ । म र मजस्ता अनेकौं आफ्नो लुटिएको अस्मिता वापसीका लागि अब प्राणको बाजी लगाएर तिमी ‘नेपाली’ रङ्गभेदीहरूको चिहान खन्न कम्मर कसिसकेका छौं । हाम्रो यो सङ्ग्रामको पहिलो अध्याय तिम्रो तिरस्कारयुक्त ‘नेपाली’ विशेषणबाट मुक्ति नै हो । त्यसैले अब मलाई नजिस्क्याऊ । मलाई ‘नेपाली’ नभन ।
असार १४, २०७२ 
वाणस्थली, महादेवस्थान-७, काठमाडौं ।           source:Esamata

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्