जनकपुरमा चार दलका नेता र सभामुख नेम्वाङको पुतला दहन
Advertise Here Book Now

शुक्रबार प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम
जनकपुरधाम । मधेश अधिकार संघर्ष समिति(मास)ले संविधानसभाका सभामुख सुभाष चन्द्र नेम्वाङसहित १६ बुँदे सहमतिमा हस्ताक्षर गर्ने चारदलका नेताको पुतला दहन गरेको छ । बिहीबार जनकपुरको शिव चौकमा मासले सभामुख नेम्वाङ र नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको शिर्ष नेताहरुको पुतला दहन गरेको हो ।
 
संविधानसभामा प्रस्तुत भएको एकीकृत मस्यौदामा नागरिकता सम्बन्धी व्यवस्था र सिमाकंन तथा नामांकन बिनाको संविधानको विरोधमा पुर्व निर्धारित कार्यक्रम अनुसार पुतला दहन गरिएको छ । मासले मस्यौदाको विरोधमा सडक संघर्षको सुरुवात गर्दै मंगलवार आन्दोलनको शंखनाद गरेको थियो । बुधवारको समिक्षा बैठकले मासका संयोजक सरोज मिश्रको संयोजकत्वमा विभिन्न चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो । आन्दोलनकै क्रममा मासका सल्लाहकार संजय ठाकुरको नेतृत्वमा बिहिवार पुतला दहन गरिएको हो । 
 
शुक्रवार जनकपुर आउन लागेका प्रधानमन्त्री सुशील कोइरालालाई कालो झन्डा देखाइने कार्यक्रम रहेको मासले जनाएको छ । प्रधानमन्त्री कोइराला जनकपुर आउने अहिलेसम्म निश्चित भने भइसेकेको छैन । 
 
पुतला दहन पश्चात कोणसभालाई सम्बोधन गर्दै ठाकुरले विभेद जारी रहे सम्पुर्ण मधेशीको चाहना अलग मधेश देश हुने चेतावनी दिए । उनले त्यसका लागि लड्न पनि पछाडि नहट्ने बताए । मासका सदस्य प्रतिभा कर्णले मासको आन्दोलनमा महिलाको सहभागिता न्युन रहेको भन्दै यो आन्दोलन महिलाको हितमा भएकाले सवै महिलालाई सहभागी हुन आग्रह गरिन् । 
 
मासले शनिवार विभिन्न संघसंस्थाका प्रतिनिधी, बुद्धिजिवी एवं सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्