प्राचिन शिव धनुषको अनुसन्धान हुनु जरुरी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,असाढ १५ । धार्मिक ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रुपमा रहेको धनुषाधामको
धनुष मन्दिरको शिलाको अध्ययन र अनुसन्धान आवश्यक देखिएको छ । धनुषाधामको
नामले प्रख्यात रहेको सो धनुष मन्दिरमा रहेको ऐतिहासिक धनुषको शिला
सितारामको विवाह प्रसंगसंग सम्बन्धित रहेको विश्वास छ ।जनकपुरधामलाई सिताको जन्म थलो, माईती भनि धार्मिक ग्रन्थहरुले प्रतिपादित गरेको तथ्य रामायणकाल देखि नै विश्वासका रुपमा मान्यता प्राप्त रहेपनि त्यस समयको अवषेश खोज्ने प्रयास नगरिएको सन्दर्भमा धनुष मन्दिरको शिला महत्वपूर्ण रहेको छ । सदरमुकाम जनकपुरधाम देखि उत्तरपूर्वमा १८ किलोमिटरको दुरीमा रहेको सो मन्दिरको स्थापना बारे विष्णुपुरानमा उल्लेख भए अनुसार दधिची मुनिको हड्डीबाट बनेको धनुष त्रिपुरासुर संग्राम भएपछि भगवान शंकरले ऋषि परशुरामलाई दिए र परशुरामले राजा जनकलाई हस्तान्तरण गरेको थियो ।
सिताको विवाहका लागि जनकपुरमा स्वयंम्बर हुदाँ भगवान रामद्वारा सो धनुष भंग गरिदाँ ३ टुक्रामा परिणत भयो । एक टुक्रा आकाश हुदँै भारतको दक्षिणी प्रान्त रामेश्वरणमा खस्यो, दोश्रो टुक्रा पातालमा गयो, जुन जनकपुरको धनुष क्षेत्रमा रहेका छन् । जसलाई जनकपुरमा धनुष सागर पोखरीको रुपमा चिनिन्छ । त्यस्तै धनुषको मध्यभागमा खसेको स्थानलाई धनुषधाम नामाकरण गरिएको छ । सो स्थानमा खसेको धनुषको कालो रंगको शिला माथि अहिले पिपलको रुख रहेको छ ।
मन्दिरका पुजारी भरत दासका अनुसार शिलाको लम्बाई बढ्दै गएको छ भने पिपलको रुख अहिले पनि हराभरा रहेको छ । शिलाको रुप हर्दा रुद्राक्ष झैँ देखिन्छ । जसलाई अनुसन्धानको विषय बनाउनु पर्ने धारणा साहित्यकार रामभरोष कापडी व्यक्त गर्नुहुन्छ वहाँको अनुसार यस्तो वस्तु पृथ्वीमा पाईदैन । फलाम भन्ने हो भने चुम्बक टासिदैँन । कुनै समयमा पहाड विष्फोट भई लाभा निस्केको हो भने पनि त्योे देखिदैन ।
सो स्थानमा एउटा कुण्ड पनि छ । जसलाई पाताल गंगा पनि भनिन्छ । कुण्डमा पानी माथि सम्म भरेको छ भने सबै कुरा राम्रो हुने र पानी माथिको सतह भन्दा तल गयो भने अनिष्ट हुने विश्वास रहि आएको छ । परापूर्व काल देखि नै सो कुण्डको पानी भरीभराउ रहेको छ भने सो पानीलाई शुभ मानिदैँ आएको छ । जुन वर्ष कुण्डमा पानी माथि सम्ममा हुन्छ भने वर्षा हुने र कृषि उत्पादनमा वृद्धि हुने स्थानीयवासीको भनाई रहेको छ । सो कुण्डको पानी असार देखि भदौँ महिना सम्म सुक्दै जाने गरेको छ । कुण्डको पानी तल गयो भने वरिपरिका वासिन्दाले संकट आउने सम्भावना रहेको भन्दै कुण्डमा ुदध खन्याउने गरिन्छ । भगवान शंकरलाई आह्वान गरी रुद्री पाठ गरेर कुण्डमा दुध खन्याईन्छ, समय ठीक छ भने कर्म दुधमा पनि कुण्ड भरिन्छ र समय बेठीक छ भने जति दुध खन्याएपनि सो कुण्ड भरिदैन ।
पुजारी दासका अनुसार विक्रम सम्बत २०६९ सालमा ६ क्वीन्टल दुध सो कुण्डमा खन्याउदाँ पनि कुण्ड भरेनन् र सो वर्ष कृषि उत्पादनमा हूास आएको, २०५८ वैशाख १५ गते कुण्ड पुर्णरुपेण सकेपछि दरवार हत्याकाण्ड भएको, २०५३ सालमा कुण्ड सुक्दा खडेरी र २०४५ सालमा कुण्ड सक्दा भूकम्प आएको स्थानीयवासीहरुको कथन रहेको छ ।
सो शिलाको माथि रहेको पिपलको रुखमा मनिनागको बास रहेको बताईन्छ । अमावस्या तिथीका दिन मध्य रातमा मनिनाग देखिने र पुरै मन्दिर हरियो रंगले रंगिएको देखिन्छ । प्राध्यापक डा. पशुपतिनाथ झा रामायणकालिन एक मात्र जिवित अवशेषको रुपमा रहेको सो शिला किन फैलिरहेको छ भन्ने कारण पत्ता लगाउनु जरुरी भएको बताउनु हुन्छ । राम सिताका समयमा रामद्वारा भंग गरिएको धनुषको टुक्रा हो की होइन यस बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने जरुरी कसैले नगर्न धार्मिक आस्था हो अथवा उपेक्षा सोचनीय भएको साहित्यकार डा. रेवतीरमण लाल भन्नुहुन्छ ।
सो स्थानमा मंसिरमा रामजानकी विवाह पञ्चमी महोत्सव माघमा तिला संक्रान्ति देखि ५वटा आईतबार सम्म मकर मेला र चैत महिनामा राम नवमीका दिन लाखौँ श्रद्धालुहरुले सो ठाउँमा पुजापाठ गर्नेगर्दछन् ।

