लन्डनमा बस्ने इलामेलीबाट भूकम्प पीडितलाई सहयोग
Advertise Here Book Now
लन्डनमा रहेको इलाम सोसाइटी युनाइटेड किङ्डमले सिकाइ केन्द्र निर्माणका लागि रु तीन लाख ५८ हजार ५५६ राहत दिएका हुन् ।
इलाम सोसाइटी युकेका अध्यक्ष कमल राईले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनःनिर्माण र अस्थायी सिकाइ केन्द्र निर्माणका लागि राहत प्रदान गर्नुभयो ।
भूकम्पबाट अति प्रभावित चमैतास्थित कञ्चनजङ्घा प्रावि, सिद्धिथुम्काको आदर्श निमावि, आमचोकको कालिकादेवी प्रावि, शान्तिडाँडाको पुवामाई निमावि, फिक्कलको दियालो निमावि, सुलुबुङको युवा प्रावि र साँखेजुङको जनता निमाविलाई प्रतिविद्यालय रु ५१ हजार २२२ का दरले राहत प्रदान गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी मदन कोइरालाले राहत रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै विदेशमा बस्ने इलामेली दाजुभाइले परिश्रम गरेर जुटाएको राहत रकम विद्यालयले सदुपयोग गर्न सकेमा यसको प्रभावकारिता अझ वृद्धि हुने बताउनुभयो ।
इलाम सोसाइटी युकेका अध्यक्ष राईले इलाममा भएको आगलागी पीडितलाई तत्कालीन रुपमा राहत वितरण गर्नुका साथै माईभगवती वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई, माईभ्याली गोल्डकपमा समेत सहयोग गरिएको बताउनुभयो । उहाँले इलामका तीन नगरपालिका र ४३ गाउँ विकास समितिलाई एक।एकवटा स्ट्रेचर, नयाँबजारका आगलागी पीडितलाई राहत र दृष्टिविहीन बालबालिकालाई सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

