मधेशी सभासदहरुले संविधानको मस्यौदा च्याते पहिचानविरोधी संविधान स्विकार्य नहुने मधेशी दलको उद्घोष
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ,
हुलाकी न्यूज, काठमडौं । मधेशी दलका सभासदहरुले संविधानसभाभित्रै संविधानको मस्यौदा च्यातेका छन् । मस्यौदा समितिका अध्यक्ष कृष्ण सिटौलाले संविधानसभामा संविधानको मस्यौदा पेश गरे लगत्तै मधेशी सभासदहरुले रोष्टम घेराउ गरी नाराबाजी गर्दै मस्यौदा च्यातेका हुन् ।
बैठकबाट बाहिरिँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी, आदिवासी, दलित, जनजाति, मुस्लिम, महिलालगायतको अधिकार हनन गर्ने संविधान स्विकार्य नहुने बताए । उनले अहिले संविधानको मस्यौदा मात्र च्यातेको, अब जलाउने चेतावनी दिए । सभासद यादवले पहिचानसहितको संघीयता र संघीयतासहितको समावेशी संविधान मात्र स्विकार्य हुने बताए ।
सदभावना पार्टीका सभासद लक्ष्मण लाल कर्णले मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, महिलाको अधिकार हनन गर्ने संविधानको मस्यौदा नस्विकार्ने बताए । उनले यस मस्यौदामा आधारित संविधान पनि नमान्ने चेतावनी दिए । सभासद कर्णले मधेशी, आदिवासी, जनजातिलगायतकालाई पछाडि राख्दै चार जनाले जारी गरेको संविधान स्विकार्न आफू बाध्य नरहेको बताए ।
उनले चार जनाले जारी गरेको संविधान मान्न जनताले आदेश नदिएको बताउँदै भने, ‘जनताले हामीलाई हाम्रो अधिकार लिएर आउ भनेको छ । जनताको संविधान नबन्ने ठाउँमा साक्षि बस्न जरुरी छैन ।’
सभासद कर्णले संविधानसभाबाट मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, महिलालगायतको अधिकार सुनिश्चित गर्ने संधिवान बन्न नसक्ने भन्दै संविधानसभाबाट राजिनामा दिने जनाए । उनले भने, ‘राज्यका तीन अंगमध्ये एउटा अंग व्यवस्थापिका संसद हो । हामीले व्यवस्थापिका संसदबाट नाता तोड्छौं ।  हामी संविधानको मस्यौदा मान्न तयार छैनौं ।’
नेपाल सद्भावना पार्टीकी सभासद डिम्पल झाले संविधानको मस्यौदाको आफ्नो पार्टीले विरोध गरेको बताए । उनले सभामुखले मधेशविरोधी निर्णय लिएको भन्दै सबै जिल्लामा सभामुख सुवासचन्द्र नेम्वाङको विरोध गर्दै कार्यक्रम आयोजना गरिने बताइन् । सभासद झाले प्रत्येक जिल्लाको सिडिओ कार्यालयमा विरोध कार्यक्रम राखिने जनाइन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्