विरगञ्ज आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु,१० घाइते,एकको अवस्था चिन्ताजनक(पुर्ण विवरण)
Advertise Here Book Now
विरगञ्जमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ । दिउसोदेखि संयुक्त मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर विरगञ्ज उपमहानगरपालिका वार्ड नं. २५ जगनाथपुरका ३० वर्षीय दिलिप चौरासियाको मृत्यु भएको हो । प्रदर्शनकारीले दुई प्रहरी चौकी र एक सवारी साधनमा आगजनी गरेका छन्। विरगञ्जको श्रीपुर १४ राधेमाई टोलमा भएको झडपका क्रममा चौरासियाको मृत्यु भएको हो । पिठ्युमा गोली लागेका चौरासियाको उपचारको क्रममा मृत्यु भएको हो ।
राधेमाइ टोलमा गोली लागे लगत्तै चौरासियालाई नारायणी अञ्चल अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उनको उपचार गराउँदा गराउँदै निधन भएको हो ।
विरगञ्जमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परेर १० जना घाइते भएका छन् । त्यसमध्ये अझै पनि पन्नालाल यादवको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनको घुँडामा गोली लागेको थियो । तर, अत्यधिक रक्तश्रावका कारण उनको अवस्था गम्भीर भएको बताइएको छ ।
यसैबीच प्रहरीको दमनबाट आक्रोशित भएका आन्दोलनकारीले विरगञ्जमा दुई वटा प्रहरी चौकी जलाइदिएका छन् । आन्दोलनकारीले विरगञ्जको रानीघाटमा रहेको प्रहरी चौकी र अशोकबाटिका नजिकैको शिवपार्वती मन्दिर संसानघाटमा रहेको अस्थायी प्रहरी पोष्ट आगो लगाएर जलाएका हुन् । त्यसैगरी प्रदर्शनकारीले विरगञ्जमा एक सरकारी गाडी समेत जलाएका छन् । उक्त गाडी पर्सा जिल्ला नापी कार्यालयको रहेको बताइएको छ ।
वीरगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि राखिएको ना १ झ २७९ नम्वरको गाडीमा प्रदर्शनकारीले आगो लगाएका हुन् । त्यस्तै प्रदर्शनकारीले विरगञ्जको घन्टाघर चोकमा रहेको नेपाल टेलिकमको कार्यालयमा पनि तोडफोड गरेका छन् ।
सुरुमा विरगञ्जको नगवाचोकमा भएको झडप बढ्दै गएर विरगञ्जका बिभिन्न ठाउँमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडप बढ्दै र उग्र बन्दै गएपछि स्थानीय प्रशासनले दिउसो ४ बजेदेखि कर्फ्यू लगाएको थियो । तर, आन्दोलनकारीले कर्फ्यू तोडेर प्रदर्शन जारी राखेका थिए । सो क्रममा प्रहरीका केही जवान पनि घाइते भएको बताइएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै थुप्रै अश्रुग्याँस र हवाई फायर पनि गरेको थियो । त्यति गरेर पनि नरोकिएपछि गोली चलाउनु परेको प्रशासनले जनाएको छ ।
आन्दोलनकारीले विरगञ्जको बसपार्क क्षेत्रमा रहेका बसहरुमाथि अन्धाधुन्ध ढुंगा प्रहार गरेका थिए । सो कार्य रोक्ने क्रममा रबरका गोली र अश्रुग्यास चलाउनु परेको प्रशासनको भनाई छ ।
तर, आन्दोलनकारीले भने प्रहरीले आफूहरुमाथि निर्मम दमन गरेको दावी गरेका छन् ।ननस्टप खवरबाट








