टीकापुर घटनामा मोदीद्धारा दुख प्रकट, गृहमन्त्रीकहाँ पुगेका राजदुत जनाए आपत्ति
Advertise Here Book Now

काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार टेलिफोन गरेर सोमबार कैलालीको टीकापुरमा भएको हिंसाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका परिवार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
नेपालको राजनीतिक एवम् सामाजिक अस्थिरताप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्दै प्रधानमन्त्री मोदीले हालैको भूकम्पले दिएको दुःख पीडालाई त्यसले अझ बढाउने बताउनुभयो।
संयमता अपनाउनुपर्ने तथा शान्ति, सुव्यवस्था पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार, सबै राजनीतिक दल र नेपाली जनतालाई हिंसा त्यागेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
शान्तिप्रक्रिया र संविधान लेखनमा नेपालले हासिल गरेको ऐतिहासिक प्रगतिको सराहना गर्दै भारतका प्रधानमन्त्रीले वार्ताको माध्यमबाट सबै प्रमुख मुद्दा मिलाउन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। “विश्वासको वातावरण सुदृढ तुल्याउन तथा सुनिश्चितता कायम गर्न जनतासहित समाजका सबै वर्गसँगको विस्तृत परामर्शको प्रक्रियाबाट मूल विषय निरुपणको सन्देश प्रधानमन्त्रीले दोहोर्‍याउनुभयो” अनेकतामा एकतायुक्त विविधतापूर्ण समाजयुक्त शान्त, स्थिर र समृद्ध नेपाल निर्माणको जनचाहना प्रतिबिम्बित हुने निष्कर्षमा पुग्न आग्रह गर्नुभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री मोदीले छिमेकीका नाताले नेपालको सुरक्षाका निम्ति भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै भारतको एक मात्र चाहना शान्त, सुरक्षित, स्थिर, लोकतान्त्रिक एवम् समृद्ध नेपाल हेर्न चाहेको प्रधानमन्त्री कोइरालालाई बताउनुभएको विज्ञप्तिमा जनाइएको छ।
विविधतायुक्त नेपाली समाजको सामथ्र्य, विशाल स्रोत र असाधारण प्रतिभा एवम् क्षमता भएको नेपाललाई नेपाली जनताका प्राथमिकता र चाहनाअनुसार सबै प्रकारका सहयोग भारतले निरन्तर उपलब्ध गराउने प्रतिबद्धता प्रधानमन्त्री कोइरालासमक्ष प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
यता, भारतीय राजदूत रणजीत रायले गृहमन्त्री बामदेव गौतमसँग भेटेर टीकापुर घटनामा भारतीयहरुको संलग्नता रहेको भन्ने सन्दर्भमा चासो व्यक्त गरेको खबर छ। संसदमा जवाफ दिने क्रममा गृहमन्त्री गौतमले सर्लाही रौतहट र टीकापुरमा दक्षिणतिरबाट मानिसहरु सदरमुकामतर्फ आइरहेको भन्ने जवाफ दिको बिषयमा भारत सरकारको असन्तुष्टी रायले राखेका थिए।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्