सप्तरीका दुई कार्यालयमा आगजनी, दोस्रो दिन पनि पूर्ण बन्द
Advertise Here Book Now

Sam_0401 बन्दको अवज्ञा गरेको भन्दै मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको एक समूहले राजविराज स्थित कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन कार्यालयमा सोमवार आगजनी गरेका छन् ।
बन्दलाई अवज्ञा गरी कार्यालय सञ्चालन गरेको आक्रोशमा आन्दोलनकारीहरुले आगजनी गरेका हुन् । कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन नम्वर–२ को कार्यालयमा गरिएको आगजनीबाट कार्यालयको कुर्सी, टेबुललगायतका फर्निचर सामग्रीहरु जलेर क्षति भएको छ । राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । आन्दोलनकारीहरुको सोही समूहले छेउमै रहेको पूर्वाञ्चल सिंचाई व्यवस्थापन कार्यालयमा तोडफोड गरेका छन् ।
आम हड्तालको दोस्रो दिन पनि जिल्लाका सरकारी कार्यालयहरुमा कामकाज ठप्प रहेको छ । स्थानीय बैंक, वित्तीय संस्था, सामुदायिक तथा नीजी विद्यालयहरु समेत बन्द रहेको छ । राजविराज स्थित पुनरावेदन अदालत र सप्तरी जिल्ला अदालतमा बार एसोसिएसनको अनुरोधमा बहस पैरबी समेत स्थगन भएको छ ।
जिल्ला प्रशासन कार्यालय जाने बाटोको दुबै मुखमा काँडेतार लगाएर आवागन समेत अवरुद्ध गरिएको छ । आन्दोलनकारीहरुले आ–आफ्ना पार्टीका झण्डा बोकेर नाराबाजी गर्ने कार्यलाई निरन्तरता दिएका छन् । बजार बन्द रहेका कारण सर्वसाधारण जनताको आवागमन समेत पातलिएको छ ।
जिल्लाको पूर्व पश्चिम लोकमार्गको रुपनी खण्ड तथा भारदहमा आन्दोलनकारीहरु सडकमा बसेर प्रदर्शन गरिरहेको कारण राजमार्गमा यातायात ठप्प रहेको छ ।
संविधानको प्रारम्भिक मस्यौदा पुनर्लेखन र स्वायत्त मधेश प्रदेशको माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएको मोर्चाले साउन ३१ र ३२ गते आम हड्तालको घोषणा गरेको हो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्