पचास लाखको अफर सुनेर सिरहाका किसुन साहको आँखामा किन आँसु रसायो ?
Advertise Here Book Now

KIsun_shan_सिरहा, ५ भदौ । आन्दोलनमा सहिद हुनेका परिवारलाई ५० लाख रुपैयाँ दिने मधेसी मोर्चाको निर्णय सुनेर सिरहा गोविन्दपुर गाविस-३, ग्रामीण टोलका ३५ वर्षीय किसुन साहको आँखाबाट आँसु रसायो।
२०६३ सालको मधेस आन्दोलनका कारण दस वर्षदेखि अपांग शरीर लिएर परिवार पाल्न अनेक दुःख गरिरहेका उनलाई मधेस केन्द्रित दलको घोषणाप्रति रत्ती विश्वास छैन। ‘आन्दोलनमा ज्यान गुमाउनेहरू सहिद भए, सम्बन्धित परिवारले थोरै भने पनि राहत पाए तर म त आन्दोलनको घाइते उपचार खर्चबाहेक केही पनि पाइनँ’, उनले भने।
उनले मधेस र मधेसीको मुक्तिको कुरा गर्ने मधेसी दलहरूको व्यवहार सम्झिँदा मन दुख्ने बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । ‘खुट्टा काटिएपछि मेरो त सर्वस्व गुमेको छ। जहान, बालबच्चाको बिचल्ली भयो’, उनले भने।
रिक्सा चलाएर एक छोरा, दुई छोरी र पत्नीसहितको परिवार पाल्दै आएका साहले २०६३ माघ ८ गते लहानमा प्रहरीको गोली लागेर दाहिने खुट्टा गुमाउनुपर्‍यो ।
प्रहरीको गोली लागेर अचेत भएका साहको होस भोलिपल्ट काठमाडौंको छाउनीस्थित दीपेन्द्र प्रहरी अस्पतालमा खुलेको थियो।
चिकित्सकहरूले खुट्टा काट्नुपर्ने बताए। ‘मसँगै ल्याइएका ढोढना मोहनपुरका बेचन महतोको निधन भएपछि मनमा चिसो पसेको थियो’, उनी सम्झन्छन्, ‘खुट्टा नकाट्न डाक्टरलाई बिन्ती गरें। डाक्टरले पछि क्यान्सर हुनसक्छ भन्नुभो अनि काट्न मानें।’
अहिले उनी नक्कली खुट्टाको भरमा गाउँदेखि करिब एक किलोमिटर उत्तरको खुट्टी खोलामा गिट्टी बालुवा चाल्छन् । उनले भने, ‘अपांग भएपछि मधेसका नेताले वास्ता गरेनन्, हामी सुकमबासी, गिट्टी नचाले भोकै सुत्‍नुपर्ने बाध्यता छ।’
मधेस आन्दोलनका क्रममा तराईका जिल्लाबाट ५३ जनाको निधन भएको थियो भने ५८ जना गम्भीर घाइते भएका थिए। घाइतेहरूले अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन्।
मधेस आन्दोलनका अगुवा नेतालाई कयौंपटक रोजगारी खोजिदिन आग्रह गरे पनि उनलाई कसैले सुनेनन् । ‘मधेस र मधेसीको मुक्तिको भाषण गर्ने मधेसवादी दलका नेताहरू सत्ताको भर्‍याङ उक्लिन मात्र त्यस्तो भन्छन्’, साहले भने, ‘नत्र आन्दोलनमा सहिद भएकाको परिवार र घाइतेहरूको अवस्था कस्तो छ भन्ने चासो हुनु पर्दैन ? मधेस आन्दोलनका नाममा मजस्तो व्यक्तिले खुट्टा गुमाएर के पाएँर ?’
नक्कली खुट्टाको सहारामा दिनभरि काम गरेर फर्कंदा खुट्टा सुन्निएर कष्ट सहनुपर्ने दैनिकी उनले सुनाए। ‘त्यस बेलाको आन्दोलनका कमान्डर उपेन्द्र यादवलाई भेट्न कष्ट सहँदै लहानसम्म गएँ।  जीविकाका लागि केही सहयोग मागेको थिएँ’, उनले गुनासो पोखे, ‘उहाँले त आफ्नो पार्टीका नेता विजयकुमारसँग भेट गर्नू भन्दै मोबाइल नम्बर पो दिनुभयो, त्यो फोन पनि बिस्तारै उठ्न छाड्यो।’
                                                                                           

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्