राजधानीमा कुटिए, सिरहामा इज्जत लुटिए
Advertise Here Book Now
साउन- काठमाडौं । काठमाडौंमा दलित अधिकारकर्मीहरुलाई कांग्रेस/एमालेको सरकारले निर्मम पिटेको छ भने सिरहामा चाँहि हिन्दु धर्म र संस्कारका नाममा एउटा डोम परिवारमाथि १८ औं शताब्दीको मध्ययुगीन व्यवहार गरिएको छ ।विद्यालयका प्रधानाध्यापकसमेत दलितले छोएको पानी खानुहुँदैन भन्ने पक्षमा उभिएका छन् । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारबाट करिब ४७ उत्तरपूर्वमा पर्छ धनगढी गाविस । यसै गाविसको वडा नं. ३ मा पर्ने नैनपुर गाउँले अहिले देशका कैयन गाउँहरुको प्रतिनिधित्व गरिरहेको छ, जहाँ दलितहरुलाई इनार छुन दिँइदैन । नयनपुर गाउँमा करिब दुई सयवटा घर छन्, जसमा पहाडी र मधेसी मूलका नागरिकको छ्यासमिस बसोबास छ । पहाडीमा बाहुन, क्षेत्री र मगर तथा मधेसीमा तेली साह, महतो कोइरी, गुहार यादव तथा मुसहरहरु बस्छन् । सिंगो गाउँमा एउटा डोम परिवार छ, पुलकित मलिकको ।
परिवारमा पुलकितकी श्रीमती, छोराबुहारी र केटाकेटी बस्छन् । गाउँमा ४ वटा इनार छन्, जसमा एउटा सार्वजनिक हो भने अन्य व्यक्तिगतरुपमा खनिएका हुन् । ती इनारमा पानी भर्न डोम परिवारलाई बन्देज छ । इनारबाट अरुले झिकेर दिए मात्रै पानी खान पाउँछन् उनीहरु । नियमित पानी झिकिदिए वापत आफूहरुले बुनेका नाङ्लो, पंखा, ढाकीलगायतका सामग्री उनीहरुलाई दिनुपर्ने डोम परिवार बताउँछन् । मुसहर परिवारलाई भने अलि खुकुलो छ । उनीहरु इनारमा अरु नभएका बेला पानी झिक्न पाउँछन् । रोचक के छ, भने मुसहरहरु पनि डोम परिवारलाई इनार छुन दिनुहुँदैन भन्ने पक्षमा छन् ।

