सिरहामा बाढीको बितण्डा : ११ परिवार बिस्थापित
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम भदौ ४ /
तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण सिरहा सदरमुकामस्थित दर्जनौँ सरकारी कार्यालय आज जलमग्न भएका छन् । सिरहा सदरमुकामस्थित जिल्ला कृषि विकास, पशु सेवा, जिल्ला प्रहरी कार्यालयलगायत सरकारी कार्यालयमा तीन फिभन्दा बढी पानी जमेको छ । ढलको व्यवस्था नहुँदा पानी जमेपछि सेवा प्रभावित बनेको छ । यस्तै सिरहा नगरवासीका घर घरमा पानी पसेकाले जनजीवन प्रभावित बनेको छ । मूल सडकबाहेकका अधिकांश सडक हिल्लामे बनेको सिरहा नपा–३ का राकेश बर्मा बताउनुहुन्छ । उहाँका अनुसार नगरपालिका क्षेत्रमा निर्माण भएको सडकले पानी निकास रोकिएपछि स्थानीयवासीको घर घरमा पानी जमेको छ ।
यस्तै गागन नदीमा आएको बाढीले पिप्रा–२ का ११ परिवार विस्थापित भएका छन् । स्थानीयवासी नैनीलाल यादव, रघुवीर यादव, श्रीचन यादव, सूर्यनारायण यादवलगायत घरमा बाढी बाढी पसेको स्थानीय एकीकृत नेकपा(माओवादी) नेता जीवछ यादवले जानकारी दिनुभयो ।
सिरहा नगरपालिका–८ महिसोथास्थित मुसहर बस्तीमा बाढी पसेपछि करिब १२ परिवारको घर भत्केको स्थानीयवासीले जनाएका छन् । यस्तै मैनाबत्ती, गागन, सहजा, बडहडधारलगायत नदीको बाढी पसेर छोटकी टोल सिरहा, खिरौना, माडर, लवटोली, लक्ष्मीनियाँ, मखनाहा, तारापट्टी, रमौल, इटाटार र सन्हैठाका करिब सयौँ घर डुबानमा परेका छन् ।
सिरहाका प्रहरी प्रमुख रामकृपाल साहले अविरल वर्षाका कारण कमला, बलान, गागनलगायत नदीमा बाढी आएर गाउँ पस्ने खतरा रहेकाले प्रहरी परिचालन गरेर सतर्कता अपनाउन निर्देशन दिइएको बताउनुभयो । यस्तै जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ मानबहादुर विकले बाढी तथा अविरल वर्षाका कारण हालसम्म कहीँ कतै मानवीय क्षति नभएको बताउँदै बाढी पस्ने सम्भावित घटनाबाट बच्न तथा सचेत हुन जिल्लावासीसँग आग्रह गर्नुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्