सिरहाको मिर्चैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, मोटरसाइकलमा आगजनी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका कारण सोमबार साँझदेखि तनावग्रस्त बनेको सिरहाको मिर्चैयामा अझै प्रदर्शन जारी छ ।
प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन जारी राखेका कारण मिर्चैया क्षेत्र अझै शान्त हुन नसकेको हो ।
नेकपा–माओवादी र संयुक्त मधेसी मोर्चाको निरन्तरको बन्दका कारण सिरहाको बन्दीपुर, मिर्चैयालगायतका स्थानमा रोकिएका सवारी साधनलाई सोमबार साँझ प्रहरीले सुरक्षा दिँदै गन्तव्यतर्फ पठाउने क्रममा प्रदर्शनकारीहरुले मिर्चैयास्थित घुर्मी खोला नजिक ना५ख ४४२९ नंको बसमा आगजनी गरेको थियो ।
प्रदर्शनकारीहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले लाठी चलाएको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच ढुङ्गामुढा सुरु भएको थियो ।
सो क्रममा सङ्घीय समाजवादी फोरम नेपालका सभासद् डा वीरेन्द्रकुमार महतो, तमसपाका रामकुमार मण्डललगायत आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई राति ११ बजेतिर छाडिएको तमसपाका रामकुमार मण्डलले जानकारी दिनुभयो ।
प्रहरीले पुनः सुरक्षा दिँदै सवारी साधनलाई पठाउन सक्ने भन्दै बिहानैदेखि प्रदर्शनकारीहरु सडकमै बसिरहेका छन् । बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।
यस्तै, निरन्तरको बन्दका कारण आज बिहानैदेखि सिरहाको लहान, गोलबजार, धनगढी, बन्दीपुरलगायतका स्थानबाट सञ्चालन हुने यातायातका साधन चलेका छैनन् । यहाँ बजार बन्द छ ।
आज बिहान सप्तरीको भारदहमा प्रदर्शनका क्रममा गोली लागेर भारदह– १ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएपछि आक्रोशित भएका मोर्चा कार्यकर्ताले सप्तरीको राजविराजमा जिल्ला जनस्वास्थ्य कार्यालयको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्