समग्र मधेश प्रदेश नदिएसम्म आन्दोलन जारी रहने चेतावनी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /भारदह मधेशवादी दलका प्रमुख नेताहरु प्रहरीको गोली लागेर ज्यान गुमाएका सप्तरीको भारदह १ का राजीव राउतको परिवारसँग विहिबार भेट गरेका छन् । भेटघाटका क्रममा मृतक राउतलाई सहिद घोषणा गराउनुका साथै परिवारलाई आवश्यक सहयोगको प्रतिवद्धता जनाए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झा पीडित परिवारसँग भेटघाट गरेका हुन् ।
उनीहरुले स्थानीय आन्दोलनकारी तथा सर्वसाधारण गाउँलेसँग घटनाको वस्तुस्थिति बारे जानकारी लिएको संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले बताए ।
शीर्ष मधेशवादी नेताहरुले विहिवारका लागि निर्धारण गरिएको शोक सभालाई सम्बोधन गर्न भारदह आएका हुन् । बर्षाका कारण उक्त सभा शुक्रवारका लागि सारिएको छ । नेताहरुले पत्रकारहरुसँग कुराकानी गर्दै झापादेखि कैलाली कञ्चनपुरसम्मको समग्र मधेश प्रदेश नछुट्टयाईएसम्म अहिलेको आन्दोलन नरोकिने बताए ।
मधेशी मोर्चाका संयोजक समेत रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीदेखि पर्सासम्मको राज्यको लागि आन्दोलन नभई झापादेखि कञ्चनपुरसम्मको मधेश राज्यका लागि मधेश विद्रोह भईरहेको बताए ।
दोस्रो मधेश आन्दोलनका प्रथम सहिद राजीव राउतको रगत व्यर्थ नजाने प्रतिवद्धता जनाउँदै उनले भारदहमा प्रहरीले दमनको पराकाष्ठा नाघेको र त्यसको जवाफ मधेशी जनताले शान्तिपुर्ण आन्दोलनवाट दिने बताए ।
अन्तिम र निर्णायक मधेश विद्रोह सुरु भईसकेको उद्घोष गर्दै तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसअघिको आन्दोलनमा मधेशी मोर्चासँग भएका सहमतिहरु कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने बताए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले समग्र मधेश प्रदेश नदिइए अबको आन्दोलन स्वतन्त्र मधेशका लागि गरिने चेतावनी दिए । उनले भने, ‘हामी भिखारी होईनौं, हामीले माग्ने अनि राज्यले दिने कुरै आएन, हामी पनि राज्यकै हिस्सा हौं र स्वायत्त मधेश प्रदेश हाम्रो अधिकार हो ।’
काठमाण्डौसँगको अबको सम्बन्ध राज्यको व्यवहारमा निर्भर पर्ने वताउँदै संघीय सदभावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल झाले भने, ‘अब मधेशकै गाउँमा बसेर मधेशको अधिकारका लागि लडनेछु ।’ समग्र मधेश एक प्रदेश आफूहरुको एक मात्र एजेण्डा रहेको उनले बताए ।
यता भारदहमा अझै पनि शोक र आक्रोशको वातावरण कायमै रहेको छ । मंगलवार प्रहरीको गोली लागि ज्यान गुमाएका राजीव राउतको शव अझै धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
दिनभरी बन्दकर्ताहरु नारा जुलुश तथा प्रदर्शन गरेका छन् । विहिवार साँझ समेत भारदह चौकदेखि कंकालिनी मन्दिरसम्म नारा जुलुश गर्दै पुनः गोल चोकमा पुगेर कोण सभा आयोजना गरिएको छ ।
सो कोण सभामा बोल्दै नेकपा माओवादीका अध्यक्ष मातृका यादवले आन्दोलन मास्न प्रहरीले गोली प्रहार गरेको बताए ।
यसैगरी संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष रेणु यादवले मधेश र मधेशीले अधिकार नपाएसम्म संघर्ष जारी रहने उद्घोष गरिन् ।
कोण सभामा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, तमलोपाका केन्द्रीय सदस्य साधना झा, फोरम नेपालका कौशलेन्द्र यादव, नेसपा गजेन्द्रवादीका दानी मण्डल, विद्यार्थी नेताहरु दिनेश यादव, किशोर यादव, मधुसुदन यादवसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
संयुक्त आन्दोलन परिचालन समिति सप्तरी क्षेत्र नम्बर २ का संयोजक विरेन्द्र माझीको अध्यक्षतामा सम्पन्न कोण सभा सुभाष यादवले सञ्चालन गरेका थिए ।
मृतक राउतलाई सहिद घोषणासँगै परिवारलाई राहत स्वरुप २० लाख उपलब्ध गराउनुपर्ने, घटनाको छानविनकालागि उच्चस्तरीय न्यायिक समिति गठन हुनुपर्ने, मृतकका श्रीमतीलाई स्थायी रोजगारीको ब्यवस्था गरी दुई सन्तानलाई उच्च तहसम्मको निशुल्क शिक्षा तथा योग्यताअनुसार सरकारी सेवाको सुनिश्चितता गर्नुपर्ने मोर्चाले माग प्रस्तुत गरेको छ ।
यसैगरी मृतक राजीव राउतको सम्मानमा सार्वजनिक स्थानमा शालिक निर्माण गरी सार्वजनिक स्थानको नामंकरण निजकै नामबाट हुनुपर्ने, गोली चलाउने र आदेश दिने दोषी प्रहरी उपर कर्तब्य ज्यान मुद्दा दर्ता हुनुपर्ने, सप्तरीका प्रजिअ र प्रहरी उपरिक्षक तथा गोलीकाण्डको कमाण्डा सम्हालेका प्रहरी निरीक्षक मेघराज थापालाई तत्कालै बर्खास्त गर्नुपर्ने, प्रहरीको गोली र लाठीचार्जबाट घाईते भएकाहरुको उपचार ब्यवस्था हुनुपर्ने र स्वायत्त मधेस प्रदेशको सुनिश्चितता हुनुपर्ने माग स्थानीय बासिन्दा र आन्दोलनरत मधेसी मोर्चाले बुधवार नै सार्वजनिक गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्