नेपालको लोकतन्त्र, आँखा चिम्लेर लाठी बर्साउने र रमिते बनेर हेर्ने
Advertise Here Book Now

dalit lathi parharऑनलाइन सिरहा डटकम साउन २०/सतिले सरापेको देश’ नेपाल सम्बन्धि यो उखान धेरैलाई थाहा होला । आज आएर मलाई विश्वास हुन थाल्यो यो उखान त्यत्तिकै प्रचलित भएको होइन । यहाँ ठूलाबडा, हुने खानेको राज चल्ने, साना, गरीब, दलित, किसान, निमुखा भने सधै पीछडिएर रहनु पर्ने । साच्ची कस्तो बिडम्बना है । नेपालमा पहिलेदेखि नै परम्परा र अन्धविश्वासका आधारमा ठूलाले सानालाई दबाउने गरेको कुरा हामी सबैसामू छर्लङ्ग छ । अहिले राजतन्त्रको अन्त्यसँगै लोकतन्त्र स्थापना भएको छ । राजतन्त्रको अन्त्यका लागि लाखौँ जनता सडकम ओर्लिएका थिए । त्यसमा दलित, बाहुन, क्षेत्री, मधेसी, महिला लगाएतका सबै जात, जाती, धर्म, सम्प्रदायका मानिसहरु सहभागी थिए । उनीहरु यसरी सडकमा आएर आफ्नो ज्यान बाजी राखेर निरङ्कुश मानिएको राजतन्त्र अन्त्यका लागि आवाज उठाउनु उनीहरुको रहर थिएन । राजतन्त्रको अन्त्यसँगै उनीहरुको हक अधिकार सुनिस्चित होला र राज्यमा सबैलाई समान अधिकार र स्वतन्त्रताको ग्यारेन्टी होला भनेरै उनीहरु आन्दोलनमा होमिएका हुन् । त्यसमध्य बाहुन र क्षेत्री अर्थात हाम्रो समाजमा उपल्लो जात मानिने जातका मानिसहरुको राजनैतिक देखि लिएर प्रहरी, प्रशासन, सरकारी निकाय लगाएतका हरेक क्षेत्रमा बाहुल्यता रहेको छ । तर, दलितहरु सधैभरी पीछडिएर रहेका थिए । केही वर्षदेखि सरकारी कोटामा जनजाती, मधेशी लगाएतका कोटा छुट्टाएर यस्ता निकायहरुमा समानुपातिक सहभागिता बढाउन खोजेको पाटोले केही सकारात्मक लक्षण देखाएको थियो । तर, अहिले फेरि राज्यद्धारा नै भएको एउटा व्यवहारले राज्यको सामन्ती प्रवृत्ती झल्काएकोे छ र लोकतन्त्रको खिल्ली उडाएको छ ।
पहिले यो प्रशंगलाई अलिकति जोडौँ है त । राजेश हमाल सिरहाको एक गाउँमा जाँदा केही दिनअघिमात्र त्यहाँका दलितमाथि भएको अन्याय देखेर उनले आफ्नो फेसबुकमा आफूलाई नेपाली हुनुमा पहिलो पटक लज्जा महसुस भएको बताएका थिए । हो पनि दलित भएकै कारण एउटा नेपाली जसको रगत रातो नै छ उसले समाजका उपल्लो जात भनिनेहरुले प्रयोग गर्ने इनारसमेत छुन पाउँदैन भने के तपाईलाई नेपाली हुनुमा लज्जा महसुस हुँदैन । अन्धविश्वासी र परम्परागत समाजबाट हामी केही माथि उठेका छौँ यो साचो हो । तर, हाम्रो समाजका यसको जुन जग छ त्यो अझैसम्म पनि जहाँ को त्यही छ । घर बनउँदा पहिले जग खनिन्छ । जसलाई नै घरको बलियो आधार मानिन्छ । त्यसैले जबसम्म जग बलियो हुन्छ तबसम्म घर बलियो भइराख्छ । उदाहरण्का लागि नेपालमा वैशाख १२ गते आएको भूकम्पलाई नै लियौँ । भूकम्पका कारण कतिपय स्थानमा जगसहित घरहरु ढले भने कतिपय स्थानमा घरहरुमात्र ढले तर, जगमा खासै क्षति पुगेन । यसैगरी समानता, स्वतन्त्रता, एकरुपता, समान अधिकार भन्ने कुरा पनि उस्तै हुन् । जबसम्म परम्परागत सोच, अन्धविश्वास, विभेद, असमानताको जगलाई ढलाएर नयाँ विचार, ज्ञान र शिक्षाको जग बसाल्न सक्दैनौँ तबसम्म अधिकार र स्वतन्त्रताका नाममा नेताले जति भाषण गरेपनि त्यसको जरा मेटिन सक्दैन । जगको अर्को बलियो आधार भनेको संविधान पनि हो । यदी आजभन्दा पहिलेको संविधानमा समानताका कुरा उठाएको भए । असमान र जातीय व्यवहार गर्ने कानुनमै कडा कारबाहीको व्यवस्था गरेको भए । दलितका हकअधिकार सुनिस्चित गरेको भए । आज यो दिन आउने नै थिएन ।
म आफै जातले बाहुन हुँ । तर, सानैदेखि म बाहुनवादको बिरोध गर्छु । मलाई कतिपय साथीहरुले भन्ने गर्थे त कस्तो यार आफू बाहुन भएर दलितको वकालत गर्दै हिड्छस् । मैले उनीहरुलाई भन्ने गर्थे, ‘समाजमा जो पछाडि परेको छ, जसको हक अधिकार खोसिएको छ, जसलाई सामाजिक न्याय र समानता चाहिएको छ उसको वकालग नगरेर कसको गर्ने ।’ बाहुन मेरो जात हो नत मेरो धर्म हो न पेसा, न पहिचान नै । कस्तो अचम्म दलित, बाहुन, क्षेत्री सबैले हिन्दु, इसाई, क्रिस्चियन जुनसुकै धर्म मान्न हुने तर दलित सधै तल्लो जात नै रहने ! एकै धर्मको मान्छे, एकै सांस्कृतिक महत्व बोकेको मान्छे फरक जातको आमाको कोखबाट जन्मियो भन्दैमा उसलाई छुनै नहुने, उसले अरुलाई छुनै नहुने । कहाँको नियम यस्तो, कहाँको कानुन । कानुनमा छुवाछुत गर्न पाइदैन गर्ने, मान्नेलाई कारवाही हुनछ भन्ने सरकार सिरहाको घटनाप्रति किन आँखा चिम्लेर बसेको छ ? महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ हो पनि रगत सबैको रातो हुने अनि जात चाही सानो र ठूलो हुने, आखिर किन ?

धेरै टाढा जानै पर्दैन हिजो आजकै एउटा प्रशंगमा कुरा गरौँ । खुम बहादुर खड्काले हिन्दु राष्ट्र माग्दै काठमाण्डुको नयाँ वानेश्वरमा प्रदर्शन गरे । उनका कार्यकर्ताले वानेश्वरमा प्रहरीले निषेधिक क्षेत्रमा राखेको काँडेतार आफ्नो नियन्त्रणमा लिदै उग्र बने । तर, प्रहरी हेरेको हेरै भयो । प्रदर्शनका कारण बाटो जाम भयो । यात्रुलाई समस्या आयो । तर, पनि प्रहरी मुख दर्शक बनेर बसे । मैले आफ्नै आँखाले देखेँ यो सबै । यसमा खुम बहादुरका कार्यकर्तालाई दोष देखाउन खोजेको होइन मैले । उनीहरुले जे गर्नुथियो गरे तर, यस्तो बेला प्रहरीले के गर्नुपर्छ त ? ल मानो प्रहरी कुनै पनि दंगा, फसाद निम्त्याउने काम गर्न चाहदैन । सरकार र सरकारका गृहमन्त्री बामदेव गौतमले उनीहरुलाई नेपालमा शान्ति ल्याउनु पर्छ । आफ्ना कुराहरु सबैले राख्न पाउनुपर्छ हमला नगर है, द्धन्द्ध निम्त्याउने काम नगर है भने रे अथवा आदेश दिए रे । ठिकै छ त्यो पनि ठिकै हो । बेहारमा किन दंगा फसाद गर्ने एकछिन आउँछन् कराउँछन् जान्छन् भन्ने सोचे होलान् सबैले । तर…
हो तर, त्यसको अर्को दिन काठमाण्डुकै बिजुलीबजार जुन वानेश्वरको निषेधित क्षेत्रभन्दा करिब २०० मिटर टाढा छ त्यहाँ दलितहरुले नयाँ बन्ने संविधान दलित मैत्री हुनुपर्ने माग राख्दै प्रदर्शन गरे । प्रदर्शनमा संविधानसभामा प्रतिनिधित्व गर्ने १० पार्टीका दलित सभासदहरु सहभागी थिए । प्रदर्शन शान्पिूर्ण नै थियो । तर, त्यत्तिकैमा प्रहरीले प्रदर्शनमा लाठि चार्ज गर्यो । यो घटना पनि मेरै अगाडि भयो । अब वानेश्वरमा निषेधित क्षेत्र तोड्दा प्रहरीको मौनता र यहाँ यसरी शान्पिूर्ण प्रदर्शन गर्दा प्रहरीको लाठी चार्जलाई कसरी विश्लेषण गर्ने हो तपाई आफै गर्नुहोस् । अहिले प्रहरीले उनीहरुलाई खुम बहादुर जस्तै पावरमा नभएका कारण लाठी बर्साए कि गृहमन्त्री वा सरकारले आदेश दियो लाठी बर्साउन । आखिर प्रदर्शनमा हिजो पनि नेपाली जनता थिए आज पनि जनता छन् । अझ हिजो विभिन्न धर्मका मानिहरु रहेको देश र संविधानमा पनि धर्म निरपेक्षता राख्ने विषयको विरोधमा अराजक हुँदासमेत प्रहरीको मौनता देखियो भने आज आफ्नो हकअधिकारका लागि आवाज उठाउनेमाथि लाठी बर्सियो । यो साच्ची मैले लोकतन्त्रको दुईवटा दृश्य देखेँ । एउटा जब भेदभाव गर्ने संवैधानिक अधिकार माग्न जुलुस लिक्लन्छ सरकार रमिते हेरेर बस्छ । अर्को जब दलितहरु भेदभापूर्ण संवैधानिक व्यवस्थाको बिरोधका उत्रिन्छन् सरकार आँखा चिम्लिएर लाठी बर्साउँछ । यही हो हाम्रो लोकतन्त्र । त्यसैले त हाम्रो देशलाई सतिले सरापेको देश भनिएको रहेछ । आज आएर प्रष्ट भयो । अब प्रश्न एउटामात्र छ कि साच्ची सतिले कहिलेसम्मका लागि सरापेकी छिन् त हाम्रो देशलाई । यात सतको सरापबाट मुक्ति पाउने अर्को कुनै बाटो छैन यात नरोज्ने ? यो प्रश्न सरकार र हाम्रा नेता ज्यूहरुलाई ?

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्