जलेश्वरनाथ महादेवले दर्शन दिएनन्, रुष्ट भएको स्थानीयको भनाई
Advertise Here Book Now
रंजन भण्डारी, जलेश्वर, २७ आश्विन । जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा भगवान
जलेश्वरनाथ महादेवको दर्शन नभएपछि स्थानीयहरुले महादेव रुष्ट भएको हुनसक्ने भन्न थालेका छन् । जल गुफामा विराजमान जलेश्वरनाथ महादेव अरु बेला जलभित्रै रहेपनि प्रत्येक महिनाको पहिलो सोमबार र शिवरात्रीको दिन मन्दिरको जल निकालेर उनको दर्शन गर्न मिल्ने व्यवस्था मिलाइएको थियो ।
तर, यसपटक भने ८ फिटसम्म जल निकालिसक्दा पनि जलेश्वरनाथ महादेव नदेखिएको मन्दिरका पुजारीहरु बताउँछन् । शिवलिङ्ग नदेखिएपछि स्थानीयहरुले महादेव रुष्ट भएर दर्शन नदिएको हुनसक्ने भन्न थालेका छन् । मधेश आन्दोलनमा प्रहरीले निर्दोष जनता मारेदेखि नै महादेवले दर्शन दिन छाडेको उनीहरुको भनाई छ ।
पौराणिककालमा जगदिशनाथलाई मन्दिर परिसरमै रहेको बटवृक्ष मुनि स्वयम महादेवले यो ठाउँमा मेरो गुफा छ, यसलाई सवैको सामु ल्याउ भनेर दिएको आदेशानुसार सो उत्खनन गरिँदा महादेवको गुफा भेटिएको र सोहि स्थानमा महादेवको मन्दिर निर्माण गरिएको कथन छ । मन्दिरमा सोहि समय देखि जल रहँदै आएको र शिवलिङ्ग समेत जलभित्रै रहने हुनाले जलेश्वरको नामाकरण गरिएको स्थानीय बुढापाका बताउँछन । शिवलिङ्ग भन्दा माथि १६ सिँढी (१२ देखि १४ फिट)सम्म जल भरिएको हुन्छ ।
पहिले वर्षको ८ महिना पानी र ४ महिना सुख्खा रहने शिवालय समय परिवर्तन हुँदै जाँदा वर्षैभरी जलमय रहने गरेकोमा दर्शनार्थीलाई महादेवको दर्शन होस भनी शिवरात्रीको दिन जल निकाली शिवलिङ्गको दर्शन गर्न थालियो । पछि प्रत्येक महिनाको पहिलो सोमबार समेत शिवलिङ्गको दर्शनको व्यवस्था र सो पछि विशिष्ट व्यक्तिहरुको सेवामा समेत जथाभावी जलगुफाको जल निकालिन थालेकोमा शिवभक्तहरुले त्यसो नगरिदिन गुनासो समेत गर्ने गरेका थिए । अझैपनि धेरै शिवभक्तहरु शिवरात्री र अन्य समयमा जल निकालिँदा गुफा भित्रको जलमा खुट्टा लाग्ने र पाप चढ्ने भन्दै गुफाभित्र प्रवेश गर्दैनन् ।
केही समयदेखि महादेव मन्दिरको जल जति निकाल्दा समेत खाली नहुने र करिब ८ फिटसम्म जल फ्याँक्दा पनि जल गुफाभित्र रहिरहने पुजारीहरुले बताएका छन् । जति जल निकाल्दा पनि शिवलिङ्ग नदेखिएपछि शिवभक्त र स्थानीयहरुले महादेव रिसाउनु पछाडिको आ–आफ्नै कारण दिन थालेका छन् । कतिले मन्दिरमा सिमित वर्गको मात्र दर्शनको व्यवस्था रहेकोमा पछि सबैको लागि दर्शन खुल्ला गरिएको र सबैले जथाभावी गुफाको जलमा खुट्टा राखेर दर्शन गर्ने गरेको हुनाले यस्तो भएको हुन सक्ने विचार व्यक्त गरेका छन् भने अर्को थरीले जलेश्वरमा प्रहरी दमनमा निर्दोष मारिएकोमा भगवान रुष्ट भएको बताउँछन् । एक शिवभक्तले जथाभावी हाकिम खुसि पार्न जल निकालिनुलाई मुख्य कारण मान्छन् । पुजारी उपेन्द्र पाठक भने सही कारण थाहा नभएको र भगवानको ईच्छाको विपरित कसैले उनको दर्शन गर्न नसक्ने र उनलाई दर्शन दिने ईच्छा भएमात्र दर्शन गर्न सकिने बताउँछन् ।
अधिकांश स्थानीयले भने मधेशमा जारी आन्दोलन र भाद्र २३ गते प्रहरीको गोलीले निहत्था जनताहरु मरे पश्चात नै शिवले दर्शन दिन बन्द गरेको भन्दै प्रहरी दमनलाई मुख्य कारण मान्दै आएका छन् ।
जलेश्वरनाथ मन्दिरमा विगतमा पनि जलगुफाको जल निकाल्न प्रयोग गरिएको कुनै पनि उपकरण काम नलागेको र यसलाई शिवको शक्ती मानी बाल्टीनले जल निकाल्दा मात्र शिवलिङ्गको दर्शन हुने गरेकोमा अहिले बाल्टीले जति फ्याक्दा समेत ४ देखि ५ फिटमात्र जल निस्कने गरेको छ ।
दर्शनका लागि त्रिशुली देवीको मन्दिर खोलियो

जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशुली देवीको मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खोलिएको छ । यस मन्दिरमा मंगलबार बिहानैदेखि दर्शनार्थीहरुको घुँइचो लागेको छ । वर्षमा एकपटक केवल दशैंको दश दिन मात्रै यो मन्दिर दर्शनार्थीका लागि खुल्ला रहने मन्दिरका पूजारी उपेन्द्र पाठक बताउँछन् ।
त्रिशुल धारण गरेकी त्रिशुली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन भने उनको प्रतिमालाई समेत वर्षभर कसैले हेर्न वा छुन पाउँदैन । तर दशैंमा पूजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणलाई दर्शन गर्न दिन खुल्ला राख्ने र भेटी चढाउन पाउने चलन रहेको छ । हाल त्रिशुली देवीको मन्दिर पुनर्निर्माणमा रहेकोले उनको प्रतिमालाई मन्दिर परिसर भित्रैको विश्रामकक्षमा स्थापित गरिएको पुजारी बताउँछन् । प्रसिद्ध त्रिशुली देवीको दर्शन गर्न महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्ला लगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । त्रिशुली मन्दिरमा भाकल गरे पुरा हुने जनविश्वास रहिआएको छ ।


