नक्कली प्रधानमन्त्री धुमुर्सले रियल प्रधानमन्त्रीलाई आछु-आछु बनाएपछि … (भिडियो सहित)
Advertise Here Book Now
यसपटक प्रज्ञा प्रतिष्ठानको आयोजना र सिस्नुपानीको प्रस्तुति रहेको देउसीमा स्रष्टाहरुले भारतले नेपालमा गरिरहेको नाकाबन्दीको विरुद्धमा देउसी भैलो खेलेका छन् । हाँस्य व्यंग्य कलामार्फत सामाजिक र राजनीतिक तथा प्रशासनिक विकृतिमाथि कटाक्ष गर्दै आएका सिस्नुपानीका कलाकारहरुले यसपटकको देउसीमा पनि बर्षभरिका घटनालाई विषय बनाएर झट्टारो हान्न भ्याएका थिए । त्यहि क्रममा प्रस्तोताले प्रधानमन्त्रीलाई हास्य व्यंग्यमा दख्खल राख्ने भन्दै रोचक, घोचक र ठट्यौली भाषण गर्ने कलाकारिताका धनी प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए । नभन्दै सैनिक अङ्गरक्षकका साथ नक्कली प्रधानमन्त्री बनेर सिताराम कट्टेल धुमुर्स स्टेजमा आइपुगे । दर्शकहरुले सक्कली हुन् या नक्कली प्रधानमन्त्री भनेर चिन्नै सकेनन् । तर उनी साँच्चिकै प्रधानमन्त्री थिएनन् । प्रधानमन्त्री त आफ्नै पत्नी राधिका शाक्यका साथ दर्शक दीर्घामै थिए । कुटनीतिज्ञसँग कुरा गरिरहेको थिएँ, बाहिर भुराहरु आएर देउसी रे देउसी रे भनिरारैछन्, ओलीको जस्तै आवाज निकाल्दै धुर्मुसले यस्तो के भनेका थिए दर्शक दीर्घा उचालिने गरी हाँसो मच्चियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम सम्बोधन गरे । ओलीले सुरूमै ‘मेरो हुर्मत लिने धुर्मुस’ भन्दै सम्बोधन गरे । धुर्मुस पनि के कम, उनले हात उठाएर ओली अन्दाजमा दर्शकलाई अभिवादन चढाए । मञ्चमा सक्कली र नक्कली ओली देखेर दर्शक दंग थिए ।

