मधेसी मोर्चा नयाँ रणनीतिका साथ अगाडी बढ्यो
Advertise Here Book Now

काठमाडौं– बुधबारको वार्ता असफल भएपछि नयाँ रणनीति बनाउन झण्डै तीन महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । 
 
बिहान सिंहदरबारमा बस्ने तय गरिएको बैठकमा बुधबार सत्तापक्षबाट राखेको प्रस्ताव, मधेस मधेसमा जारी आन्दोलनका विषयमा छलफल हुनेछ । 
 
तराईमा दुई प्रदेश, जनसंख्याका आधारमा नागरिकतालगायतका विषयमा मोर्चाले अपनाउन सक्ने लचकताका विषयमा पनि छलफल हुने तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो । प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूबीचको बुधबारको वार्ता विना निष्कर्ष सकिएको थियो । 
 
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलिय वार्ता टोली तयारी विनै वार्तामा आएकाले अब मोर्चा नयाँ रणनीतिमा जाने बताउनुभयो । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको बुधबार भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । 
 
संसदीय समिति गठन गरेर विवादित विषय टुंग्याउने सत्तारुढ दलहरुको प्रस्ताव मोर्चाले अस्वीकार गरेका थिए । राज्य व्यवस्था समितिको बैठक हलमा भएको वार्तामा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहालले विवादित सबै विषयमा सहमति जुटाउनका लागि संसदीय समिति र प्रमुख दलका शिर्ष नेता सम्मिलित समिति गठनका लागि गरेको प्रस्ताव मोर्चाका नेताहरुले ठाडै अस्वीकार गरेका थिए । 
 
मोर्चाका नेताहरुले आफूहरु कुनै पनि समिति गठनको पक्षमा नरहेको भन्दै प्रदेशको सीमांकन हेरफेरका सम्बन्धमा ठोस प्रस्ताव ल्याउन र चिया खानका लागि मात्र वार्तामा नबोलाउन आग्रह गरे । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्