मोर्चासंग भनिएको बार्ता सुरु नहुदै विफल,महतोले वार्ता टोली फिर्ता बोलाए
Advertise Here Book Now


काठमाडौं, १ मंसिर । एमाओवादी अध्यक्ष प्रचण्डको निरन्तर प्रयासले सीमांकन विषयमा उच्च स्तरीय समिति र मधेशी मोर्चा बीच बुधवार निर्णायक भनिएको वार्ता असफल हुने लगभग पक्का भएको छ। प्रचण्डले सीमांकन विषयमा ल्याएका नयां प्रस्ताव माथि मोर्चाका अन्य घटक सहमत भए पनि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विरोध गरेका छन्। महतोले मोर्चाको दुई प्रदेशको मांगमा तल माथि नहुने प्रष्ट पारेका छन्। वार्ताको विरोध गर्दै महतोले आफ्ना वार्ता टोली सदस्य लक्ष्मण लाल कर्णलाई फिर्ता बोलाएका छन्।

प्रचण्डले झापा र कंचनपुर जिल्लालाई आयोगको जिम्मा दिएर राजनीतिक सहमति खोज्ने, पूर्वको मोरंग र सुनसरी तथा पश्चिमको कैलाली जिल्ला टुक्राएर सीमांकनमा हेरफेर गर्ने प्रस्ताव राखे पछि तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तमसपाका अध्यक्ष महेन्द्र यादवले सकारात्मक सहमति देखाए पनि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस प्रस्तावको विरोध गरेका छन्।

सर्लाहीमा रहेका महतोलाई प्रचण्डले फोन गरि यस नयां प्रस्ताव बारे जानकारी गराएका थिए। साथै उनले मोर्चाका अन्य घटकका नेताहरू महन्थ ठाकुर, उपेन्द्र र महेन्द्र यादवसंग सोमवार राजधानीमै छुट्टाछुट्टै भेंट गरेर आफ्नो प्रस्तावमा सहमत गराउंदै बुधवार निर्णायक वार्ताको लागि आह्वान गरेका छन्। बुधवार भनिएको निर्णायक वार्ताकै कारण ठाकुर र यादव काठमाण्डौं बाहिर जाने आफ्नो कार्यक्रम स्थगित गरि काठमाण्डौंमै छन्।

उता प्रस्तावको विरोधमा रहेका राजेन्द्र महतोले भोलिको निर्णायक वार्तामा सहभागी नहुने निर्णय गर्दै वार्ता टोलीमा रहेका आफ्ना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्णलाई काठमाण्डौंबाट फिर्ता बोलाएका छन्। सर्लाहीबाट बीरगंज पुगेका महतोले कर्णलाई पनि बीरगंज बोलाएर वार्ता बहिष्कार गरेका छन्। बिहिवार देखि आन्दोलन चर्काउन लागेका महतोले मधेश भरिनै आफ्ना र मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्