डढेलो नियन्त्रण गर्न उपभोक्ता परिचालन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत १० । जिल्लाको पूर्वी तथा मध्य तराई क्षेत्रका सामुदायिक वनमा केही दिनयता डढेलोबाट वनजङ्गल क्षति हुन थालपछि नियन्त्रणका लागि उपभोक्ता परिचालन गरिएको छ ।जिल्लाको पूर्वी क्षेत्रका हँडिया र सुन्दरपुरसहितका वन क्षेत्रमा २०० भन्दा बढी उपभोक्ता डढेलो नियन्त्रणमा परिचालित भएका हुन् । यस्तै त्रियुगा नगरपालिका क्षेत्रको चप्पन तथा साउने भुसुने वन क्षेत्रमा अहिले वन उपभोक्ता समिति, उपभोक्ता र इलाका वन कार्यालयका कर्मचारी डढेलो नियन्त्रणमा परिचालन गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । त्रियुगाको असारी, भुसुने वन क्षेत्रमा लागेको डढेलो गाउँ तथा नगर क्षेत्रसम्म आउन थालेपछि झन्डै ३०० उपभोक्तासहितको सक्रियतामा आगो नियन्त्रण गरिएको जिल्ला वन अधिकृत धनञ्जय पौडेलले बताउनुभयो । त्रियुगा–१ को चप्पन वन क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो पनि स्थानीय वन उपभोक्ता समिति र वनका कर्मचारीको सक्रियतामा नियन्त्रणमा लिइएको वन उपभोक्ता समितिका अध्यक्ष देवीमाया कटसुवालले बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्र तथा मध्यक्षेत्र गरेर झन्डै दर्जनौँ सामुदायिक वनमा आगलागी भएपछि जिल्ला वन कार्यालयको अगुवाइमा स्थानीय उपभोक्ता समिति र उपभोक्ता परिचालन गरेर डढेलो नियन्त्रण सुरु गरिएको हो । अहिलेसम्म जिल्लाको पूर्वी क्षेत्रको फुलजोर, सिर्जना, देउराली, सप्तकोसी र अमरज्योति सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ । राष्ट्रिय वन हँडिया, मकालु, सरस्वती, र महाभारत, पतालेलगायत एक दर्जनभन्दा बढी सामुदायिक वनमा आगलागी भएको जिल्ला वन कार्यालयले उल्लेख गरेको छ । व्यापकरुपमा सामुदायिक वनमा डढेलो लागेर वन नष्ट हुन थालेपछ अहिले सम्बन्धित इलाका वन कार्यालयसहितको वन उपभोक्ता समिति तथा उपभोक्तालाई परिचालन गरेर आगलागी नियन्त्रण गर्न सुरु गरिएको हो । आफ्नो क्षेत्रमा आगलागी नियन्त्रण नगर्ने वन उपभोक्ता समितिलाई कारबाही गर्नेसमेत जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । उदयपुरमा ३४५ सामुदायिक वन छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्